कथा- गोप्यकुरा

बेलुकाको खानापछि टिभी हेर्दैथिएँ, धन्दा र थान्कोमुन्को सकेर रमा शयनकक्षमा पसिन्| मपनि उनको पछिपछि गएर बिच्छ्यौनामा पल्टिएँ, उनी श्रींगारऐनाको अगाडी बसेर खोई के गर्दैथिन| उनले प्रसन्न मुद्रामा सुस्तरी भनिन् “हजुरलाई थाह छ, देवकीले छ नि कुमारेको बच्चा सफा गरेर पो आएकी रे त! पाँचदिन जति भयो कोठाबाहिर निस्किन्नथिई कुरो त त्यस्तो पो रहेछ|”
आश्चर्य त लाग्यो तर मैले बोलीमा र अनुहारमा पटक्कै नदेखाई भनें| “ए हो र? तिमीलाई चैं कसले भन्यो हौ यस्तोकुरा?”
उनले बडो सतर्क र सजग हुँदै भनिन्, “अँ हजुरलाई त केहि थाह हुन्न के! एकनम्बरको बुध्दु हजुर त| उता विकासले थाह पाएर बिदेशदेखी कस्तो गाली गर्या रे| मैले पठाएको पैसा ठिक पारेर राख म आउँछु अनि डिभोर्स दिन्छु भन्या छ रे|”
मैले पुन: जिद्दी गरें “तिमीलाई सुनाएको चैं कसले त्यो भन न|”
“कसैलाई पनि नभन्नु है गोप्यकुरा छ”| सचेत गराउदै दाहिनेहातको चोर औंला ठड्याएर भनिन्|
“मलाइ के खाँचो हौ भन्दै हिड्नलाई, आइमाईको कुरा” बिश्वस्त पार्दै भनें|
उनी जोसिदै भनिन् “त्यो देवकीहरु बसेको घरछेउको साहु छ नि तपाइको साथि के त रमेश, हो उसैको बुडि सरिताले भनेकी विकासलाई पनि उसैले सुनाएकी रे”! मेरो छेउमा आएर मेरो काखिमुनिबाट हात छिराएर कुम जोडाउदै अझ सानो स्वरमा थपिन| “थाह छ सरिता र बिकासको त बिकासको बिहे हुनु अगाडीदेखि नै चक्कर छ नि, रमेश सधैं जागिरमा घरबाहिर हुने उसलाई थाहै छैन| विकासले बिहे गर्नेबेला कति रोएकी रे|” एकछिन सम्झेजस्तो गरेर फेरी भनिन्| “अन्त बिहे गर्नेबित्तिकै अर्कोघरमा डेरा सारेकी रमाले, बिकास केहि गर्दा पनि वशमा नआएपछी देवकी आफैले विदेश पठाएकी रे|” यस्तो गोप्यकुरा छ कसैलाई भन्नुभयो त मार्छे नि सरिताले|” मुख कालो बनाउदै फेरी यति थपिन| म प्रतिक्रियाविहिन भएर अर्कोपट्टी फर्केर सुतें र आखा चिम्म गरेर सम्झिएँ|

एकहप्ता अगाडी सेकुवा कर्नरमा रक्सि पिउंदै गर्दा निजि अस्पतालमा काम गर्ने साथि प्रकाशले साउतीको स्वरमा रमेश, राजन र मलाइ भनेको थियो| “केटा हो एउटा सेक्रेट ब्रेकिंगन्युज छ”।

रमेशले गिलासमा सिग्नेचर थप्दै सोध्यो, “के हो भन त?”

“तेरो छिमेकमा छे नि डोरिलाहुरेकि प्वाँट छप्की, त्यसलाई त्यो जग्गा दलाल कुमारेले बिताएछ यार| तँ मुला नामर्द छिमेकमा भएको के काम?” प्रकाशले रमेशको आँखामा आँखा गाडेर भन्यो।

“हैट हो र? त्यो त निकै लजालु र भलादमीजस्ती थिई त यार? कसैसँग खासै बोल्दा नि बोल्दिन थिई” राजनले शंका ब्यक्त गर्यो|

सेकुवाको एउटा टुक्रो मुखमा राखेर हतार हतार नचपाई निल्दै प्रकाश अघि बढ्यो, “धत् यार बिग्रिने त्यस्तै घुसघुसे त हुन् नि, कुमारेले मजाले चराईराख्या रैछ अनि कहाँ तँसँग बोल्छे त? भर्खर आज त्यसैको काम गराएर आएको| आफ्नो त पेशा नै यहि हो, मान्छे बिग्रिए हाम्लाई त फाइदै फाइदा|” लामो अट्टहास गरेर हाँस्यो, गिलासको सबै रक्सि स्वाट्ट पारेर फेरी भन्यो| “तर साथि हो भन्न चैं कसैलाई पनि नभन है गोप्यकुरा हो फेरी हाम्रो धन्दापानी चल्दैन है, अनि यसरि सोल्मारीमा आउन नि अरुको मुख ताक्नुपर्छ|

राजन र प्रकाशले यो कुरामा लिनुपर्ने जति सबै मजा लिए तर रमेश खोइ किन हो एकाएक निराश भएको थियो| आँगनमा पाकेको बालि अर्कैले खाइदिएर चित्त दुख्या हो भनेर सोध्न मन लागेको थियो तर मैले सोध्न सकिनँ|

3 thoughts on “कथा- गोप्यकुरा

  1. Pingback: कथा : गोप्यकुरा - साहित्य संग्रहालयसाहित्य संग्रहालय

Leave a comment