डोरी लाहुर र ‘मनिलापथ’

संबिधानको मस्यौदामा सुझाव संकलन गर्दै हिडेका नेता तथा कार्यकर्ताले पाएका सबै सुझावहरु मध्ये बजार पिट्ने सुझाव महिलाहरुको मार्फत आयो, बहुपति राख्न पाउने भन्नेबारे | यो सुझावलाइ धेरैले हावा खुस्केको मान्छेले गरेको माग भनेर उडाउन खोजे पनि यो गम्भीर बिषय हो | एकातिर यो बहुविवाह गर्न तल्लिन कुपुरुषहरु माथिको सांकेतिक हमला हो भने अर्कोतिर समयले निम्त्याको जटिल परिस्थिति | अब सम्बन्धितहरुले यसमा बिशेष ध्यान दिएर यसलाई बेलैमा सम्बोधन नगरिए भोलि बिकराल रुप नलेला भन्न सकिन्न |

विदेशिएको श्रीमानले पठाएको पैसा र गहना लिएर बेपत्ता भएका श्रीमतीहरुको खबर नियमित रुपमा आउने गरेका छन् | र, नियमित रुपमा हाडनाता करणीका मुद्दाहरु पनि सतहमा आउने गरेका छन् | भर्खरैको कुरो मेरै चिनजानका एकजना व्यक्ति गत कार्तिकमा इपिएसद्वारा कोरिया पुगे | नेपालमा पनि सानोतिनो व्यवसाय गरेर बसेका तिनको नौबर्ष अघि बिवाह भएको थियो र सात बर्षको छोरो पनि छ | बि एड गरेकी श्रीमती गाउँमै शिक्षण पेशा गरेर बसेकी थिईन | तर फाल्गुनको अन्त्यमा अकास्मात उनकी श्रीमती छिमेकीसँग दिउँसै आपत्तिजनक अवस्थामा रंगेहात समातिएको खबर आफन्तमार्फत पाउछन | आफन्त र समाजले सोहीदिन उनकी प्राणप्यारीलाई छिमेकीको जिम्मा लगाइदिए | उनले सो अवस्थामा केहि सोच्न सकेनन् तर भोलिपल्ट उनले ससुरालमा फोन गरे र अर्को मान्छेसँग नपठाउन आग्रह गरे | छोराको बिचल्ली हुने, सबै व्यवहार उनैको हातमा भएको तथा नौ कक्षादेखि बिएडसम्म पढ़ाउदा आफुले गरेको लगानी डुब्ने डरले श्रीमतीलाई गुमाउन चाहेनन् | न उनि झट्ट गएर छोराको ख्याल राख्दै बस्ने स्थिति थियो, न श्रीमतीलाई अर्कोको जिम्मा दिएर छोरो उतै पठाउने हिम्मत |

यो एउटा प्रतिनिधि घटना हो, यस्ता घटना अचेल दिनहुँ सुन्नमा आउँछन | आफ्ना भावी पिढिको सुन्दर भविष्यको लागि परदेशिएकाहरुको दैनिक चिन्तन हो | सोहि चिन्ताले कति दुर्व्यसनको शिकार भएका छन् भने कति मानसिक बिमारी | किनकि छोराहरुलाई हाम्रो समाजले रुन सिकाएको छैन, हार्न सिकाएको छैन | छोराहरुको यहि हार्न नजान्ने सस्कारको कारण अर्कोसँग गइसकेकी श्रीमतीको हत्या गर्ने शिलशिला चल्न थालेको छ भने आफुले मन पराएकी केटीले आफूसँग प्रेम नगरिदिदा बलात्कार गर्नेदेखि लिएर एसिड छ्याप्ने सम्मका घटना हुनेगरेका छन् |

जनयुद्दको उत्कर्षकालमा देशमा बस्नसक्ने स्थिति थिएन, उद्योगधन्दा, कलकारखाना र सानोतिनो व्यवसायका साथै बिद्यार्थी जीवन पनि चरम संकटमा थियो | त्यसयता बिभिन्न नाममा देशलाई अझै खाल्डोमा हाल्ने काम भयो | अस्थिर सरकारले शान्ति तथा पुनर्स्थापना र संबिधान निर्माणको नाममा देशका सबै सम्भावनाहरु ध्वस्त बनायो | फलस्वरूप कथित “डोरी लाहुर” को भर्तीले शुक्लपक्षको चन्द्रमाको गतिमा वृद्धि लियो | जसैजसै डोरी लाहुरेहरु बढे, उसैउसै यसका असरहरु पनि |  सरकारी निकायको अभिभाकत्व नहुनु र लगानीको अवसर नमिल्नुले बाहिरबाट आउने पैसा खर्च गर्ने ठाउँ भएन | बैंकहरुको कम बिश्वसनियता र बचत गर्ने बानीको अभावले पैसा जताजतै खर्च गरिन थालियो | फलस्वरूप: सरकारी स्कुलका बिद्यार्थी महंगा बोर्डिंग जान थाले | सालैभर पानि जम्ने सिमखेतहरु घडेरीको नाममा सयगुना बढी दाममा बिक्न थाले | पहिलेका बृहत परिवारहरु स-साना एकल परिवार भए | केटाकेटीले आफ्ना हजुरबुबा र हजुरआमाबाट सिक्ने संस्कार र नैतिक ज्ञान पाउन छाडे | वृद्दबृदालाइ गरिने इज्जत र मान सम्मानमा उल्लेख्य कमि आयो | मोबाइल र इन्टरनेटको कारण बिकृति भरियो | खेत र खलामा भेटिने छोरिमान्छेहरु हिन्दी सिरियल र पार्लरमा भेटिन थाले | हिजोको शिप सिक्ने र इलम गर्ने छोराहरु मोटरबाइकमा हुइकिदै गरेका भेटिए | मान्छेहरुमा गलत ठाउमा खर्च गर्ने संस्कार बढ्यो | हत्याहिंसा, चोरी, लुटपाट र बलात्कारका घटनाहरु बढे | आफ्नो उर्वर उमेरमा जीवन साथि नहुँदा अनि आफ्नो शारीरिक प्यासको कुरा बाहिर लैजान नसक्दा घरैमा हाडनाता करणीहरु बढ्दै गए | एवं रितले कुरो आयो बहुपति प्रणालीको | यो बहुपति प्रणालीको माग त्यसै या बहुलट्ठी पाराले पक्कै पनि आएको होइन | अवैधानिक चलिरहेका हजारौं सम्बन्धहरूलाई वैधानिक बनाउने प्रयासको थालनीको रुपमा आएको हो | अँध्यारामा हुने गरेका कार्य- कुकार्यलाई संस्थागत गराउने अभियान हो भनेर बुझ्नु जरुरि छ |

डोरी लाहुरमा हुने धेरै खाले रङ्गरुपका डोरी लाहुरेहरु मध्ये एउटा छुट्टै पहिचान बनाएका छन् फिलिपिनी पारीहरुले | शिपयुक्त काममा सधैं पहिलो रोजाईमा रहेने गरेका फिलिपिनिहरु तलव आएको भोलिपल्ट सकेजति खर्च गर्ने र पसिदेखी बिस बिस रियाल सापटी मागी हिड्ने यिनीहरुको कथा पनि बिचित्रको छ | तलव आउन दुइ दिनदेखि बढी ढिला भएमा कोकोहोलो मच्चाउदै रुने यिनीहरुको संस्कार अलग्गै छ, जुन हामीले सुन्दा आश्चर्य लाग्दो छ |

हाम्रा अधिकांश डोरी लाहुरेहरु शंकाको चिसो भुमरी मनभरी बोकेर बसेकाछन प्रवासमा | घरबार टुट्ने शंका, छोराछोरी बिग्रिने शंका | श्रीमतीले छाडेको नामर्द लोग्ने भइने डर र शंकाकै कारण घरदेशका हरेक सानाठूला फर्माइस पुरा गराउन तल्लिन छन् | आफ्नो सुन्दर भविष्यको स्वार्थको लागि आत्मसम्मानसँग सम्झौता गर्न बाध्य छन् लाखौँ मनहरु | उदाहरणको लागि पोहोरसाल मलेशियाबाट फर्किदा श्रीमती हराएर पाँचदिन पछी अर्कैसँग जान भनेर हिडेकी श्रीमतीलाई रुन्चे हाँसो हास्दै सकारेको घटनालाई पनि लिन सकिन्छ | देशमा प्रशस्त अवसरहरुको सिर्जना गरेर डोरी लाहुरको भर्ति बन्द नगरे हाम्रो समाज पक्कै पनि छिट्टै फिलिपिन्स पुग्नेछ किनकि हामि पहिलेदेखि नै मनिलापथमा छौं |

ejanata.comमा हेर्नुहोस्

लघुकथा- बुझ्न नसकेको परिवर्तन

लघुकथा- बुझ्न नसकेको परिवर्तन

 

भिमसिने काका आज तीनछक्क परेका छन् | यत्रो बाटो उनि हिडेरै बजार पुगे र फर्के | दुइहप्ता अघिसम्म बजार आउँदा जाँदा उनलाई काका, मामा, बुबा, बा भन्ने अनि ज्यु हजुर गर्नेको कमि थिएन | गाउँका मैं हुँ भन्नेका छोराहरुले पनि उनलाई बाइकमा राखेर बजार लैजाने र ल्याउने गर्दथे | बाउहरु अछुत भनेर तर्किने गरेपनि छोराहरु घरसम्मै पुर्याउन आएर खाजापानी खाएर फर्किन्थे | तर आज उनलाई कुनै पसलेले उधारो पनि दिन मानेन | हिजो उनलाई खोजि खोजि आउनेहरु र सोधी सोधी मद्दत गर्नेहरुले नचिने झैं गरिदिए |

 

अस्तिसम्म उनि समाज शिक्षित भएछ भन्ने लागेर हर्षित थिए | केहि सालहरु देखि पुराना पाकाहरुले जे जे गरेपनि नयाँ पिढीका बिशेसगरि युवकहरुले सदासयता देखाउंदा सुनौलो परिवर्तन सम्झेर उनका खुट्टा भुइमा थिएनन् | जातभात र छुवाछुतको कालोयुग बाँचेका उनले यस्तो पनि दिन आउला भनेर सोचेका थिएनन् | फेरिएको राजनैतिक परिदृश्यको प्रतिफल भन्ने सोचेर युध्दमा गुमेको छोरालाई मनमनै धन्यबाद दिन्थे र यो महान कार्यमा समाहित भएको छोराको बाबु भएकोमा गर्व पनि गर्थे |

 

उनलाई हरेक पसल, गाडी र अन्य कुराहरुमा पनि बिशेष छुट मिल्थ्यो अझ कतिले त पुरै शुल्क पनि मिनाह गरिदिन्थे | उधारो सामान लिन कसैले नाइँनास्ती गर्दैनथ्यो | बाटोमा हालखबर सोध्ने र बोलाउनेको केहि कमि हुदैनथ्यो | घरमा पनि खुब मान्छेहरु आइराख्थे, कहिले के, कहिले के उपहार बोकेर | बाहिरका मान्छेहरुले ल्याईदिएका सामानहरुले घर भरिभराउ थियो |

 

पन्ध्रदिन देखिको चटारो हिजोमात्रै छोरीको बिदाइ गरेपछि सकिएको थियो | छोरीको बिदाइमा पिल्सिएको मनलाई सेकाउन र भान्छाका आवश्यक सरदम ल्याउनलाई आज बजार पुगेर फर्किदै गर्दा एकाएक आएको यो छक्कै पार्ने परिवर्तन बुझ्न नसकेर काका निकैबेर गमिरहे | हजार कोल्टे फेर्दा पनि न उनि निदाउनै सके न त परिवर्तनको कारण भेउ पाउन नै |

 

===== समाप्त =====