हामी हाँडी र कराही

भर्खर डेढबर्ष पुगेकी छोरीलाई भेटेर म कर्मभूमिमा फर्केर आएको धेरै भएको छैन| अघिल्लो बिदाबाट फर्केर आउँदा उनी भर्खर पाँचमहिना कट्दै थिइन्, हिड्न र बोल्न जान्दैनथिन्| दिनरात उनकै ममीसँग मात्रै बस्ने भएकीले ममीले जे सिकायो त्यहीमात्रै बोल्थिन्| म बिदामा गएदेखि उनकी ममीलाई “भुमिका” भन्दै बोलाएको सुनिन्, कहिलेकाही बोलाएको नसुन्दा जोडले बोलाएको पनि सुनिन् त्यसपछि उनको मनमा के छाप बस्यो कुन्नी सधैं “मामू’ भन्ने गरेकोमा जानीनजानी “भुक्का” (भूमिका) भन्न थालिन्| बच्चाहरुलाई यसो गर या उसो गर भनेको कुरामात्रै सिक्दैनन्, वरपर देखेर या आफ्नो छेउछाउमा हुने गरेका कुराहरु देखेर पनि छिट्टै सिक्दछन्| कारण उनीहरुको दिमाग तेजीलो र तत्काल सिक्ने खाले हुन्छ| अघिअघि उनकी ममीले रोटे कमिलालाई “हुजु” भनेर सिकाइछिन्, कमिला देख्नेबित्तिकै हुजु हुजु भन्दै भाग्थिन्| मैले एकदिन खुट्टाका औंलाले टेकेर रोटेलाई मारेको देखेपछि उनी पनि कमिला देख्यो कि टेक्न जाने गर्न थालिन्, मैले यहिँदेखि जानें| बच्चाको अगाडी त्यस्तो कुनै गलत कार्य गर्नुहुन्न जसले उनीहरुलाई दुरगामी असर परोस्|

२०३६ सालपछि शासकसँग जनताहरु एकदमै क्रुद्द भए, कम्युनिष्टहरुले ब्यापक संगठन बिस्तार गरे| तात्कालिन पंचायती ब्यवस्थाले जनताहरुमाथि चरम शोषण र दमन गर्यो, फलस्वरूप राजनीतिज्ञहरु जनताको गालीको निशाना बन्न थाले| बहुदलीय व्यवस्थाको उदय भएसंगै वाक् स्वतन्त्रता आयो, आम मान्छेहरुले लागेको कुरा निर्धक्क बोल्न थाले| राजनैतिक दल र तीनका नेताहरु भ्रष्टाचारको दलदलमा नराम्ररी जाकिए| त्यो समय र बातावरणमा हुर्किएका मान्छेहरुले दिनहुँ नेताहरुलाई गरिएका गालीहरु सुन्न पाउँथे| हरेक नराम्रो कार्यको पछि सरकार र नेताको हात हुन्छ र तीनलाई भट्टीमा बसेर होस् या कुनै सार्वजनिक समारोहमा होस् या त फेरी स्कुले बादबिबाद प्रतियोगितामा होस् जहासुकै मनलागी आक्षेप लगाउन र गाली गर्न पाइन्छ भन्ने सोचले जरा गाडेर बस्यो| गाली गर्ने र कुरा काट्ने संस्कृति या बानी भनौं यो आजको हाम्रो धेरै ठुलो समस्या र बिमारी हो| यसलाई समस्या यसकारण भनिएको हो कि अर्कालाई गाली गर्नु आफुलाई राम्रो भनिनु या देखाउनु हो| नत्र त कराहीले हाँडीलाइ कालो भन्ने कुरै आउँदैन| अझ गाली कुनैपनि समस्याको समाधान हुन सक्दैन, झन् अचेल त यो गाली संस्कृति यस्तो विकृत स्थितीमा पुगेको छ कि गहिरिएर हेर्ने हो भने जस्तै सकारात्मकबादीको पनि टाउको दुखाईको बिषय बन्न सक्दछ| कसैले केहि गलत निर्णय लिएको छ भने उसको घरपरिवार, नातागोता, टोल गाउँ, कुल घराना, जात र धर्मसँग पनि जोडेर हेरिन्छ| जुन हाम्रो लागि अति नै प्रत्युत्पादक हुन सक्छ|

अचेल प्राय: नेता भन्ने बित्तिकै अगाडी चोर आउँछ, झन् सामाजिक संजालको बढ्दो प्रयोगले यो गाली संस्कृतिलाई बिकराल समस्या बनाउदै लगेको छ| अहिलेका किशोरकिशोरीहरु राजनीतिलाई फोहोरी खेल मान्दछन| अचेल यस्तो सोचिन्छ हामी राजनीति बाहिरका सबै मान्छेहरु साधु छौं, भलादमी र सफा चरित्रका छौं तर उनीहरु सबै फोहोरी छन् (औंलामा गन्न सकिने अपबाद बाहेक)| यिनीहरु कुन ग्रहबाट आएका हुन् र यस्तो धेरै धुर्त र फटाह छन्| हामीहरु बीचबाटै हामीले नै चुनेर पठाएका व्यक्तिहरु त्यस्तो हुनुमा हाम्रो कति दोष होला? चोर फटाह भनेर जान्दाजान्दै हामीले के स्वार्थले पठायौं होला?

मेरो स्कुल जीवनको अन्त्यतिरको घटना हो, साल ठ्याक्कै याद छैन| शायद ०५५/०५६ हुनुपर्छ, मोरङ जिल्लामा पर्ने बक्राहा खोलामा बाँध बाँध्ने काम हुँदै थियो| कुनै चिनिया कम्पनीले काम गर्थ्यो, हाम्रो क्षेत्र स्व. गिरिजाप्रसादको भएकोले कांग्रेसीको बोलबाला चल्नु सामान्य थियो| अझ सरकार पनि कांग्रेसकै थियो, सो कार्य पनि कांग्रेसी मन्त्रीकै(पछी ती मन्त्रीलाई अख्तियार लाग्यो) मन्त्रालय मातहत थियो| त्यो इलाकाका सानाठूला सबै कांग्रेसीहरु त्यो बाँधको प्रोजेक्टमा जागिरे थिए| उनीहरुलाई आफ्नो जिम्मेवारी र कार्यस्थल के र कहाँ हो थाह पनि हुदैनथ्यो| उनीहरुको काम यत्ति थियो कि महिनाको अन्त्यमा गएर सबैदिनको उपस्थिति खातामा सहि गर्ने अनि तलव आउने दिन गएर तलव लिने| यो म सानो मान्छेले देखेको सानो उदाहरण हो, यस्तो हरेक गाउँ र हरेक परियोजनामा हुँदो हो| जे र जसरी गरेको भएपनि मेरो नजरमा तिनीहरु चोर हुन्, फटाह हुन्| आज शहरमा पाँचतला माथि बस्ने मान्छे आफ्नो झ्यालबाट फोहोर बाटोमा फाल्छ अनि त्यहिँबाटो हिड्ने बेलामा सरकार र नेतालाई गाली गर्दै नाक थुनेर हिड्छ| यो हाम्रो कटु यथार्थ हो|

हामीहरु भन्ने गर्छौं नेताहरुले बिकास गरेनन्, नभएको होइन कुनैकुनै क्षेत्रमा देशले ठुलो फड्को पनि मारेको छ| नेताहरुले देशको बिकास मात्रै नगरेका हुन् कि हाम्रो सोचमा प्रगति नभएको हो अब बुझ्नुपर्ने बेला आएको छ| विद्युत प्राधिकरणको प्रतिवेदनलाई आधार मान्ने हो भने बार्षिक ६ अर्ब रुपियाँको करिब दुई सय मेगावाट विद्युत् चुहावट हुन्छ र यो आर्थिक बर्ष २०७१/२०७२ मा मात्रै २१% बिद्युत चुहावट भएको छ, जुन अघिल्लो बर्षको भन्दा मात्र एक प्रतिसतले घटेको हो| तराइका जिल्लाहरुमा खुलेआम चोरी हुन्छ, कसैलाई केहि भन्यो भने मैले २० युनिट ८० रुपैया बराबरको चोरेको हो| यहाँ मान्छेले असि करोड चोरेर पनि कारवाही भएको छैन भन्ने दलील दिन्छन| अझ प्राधिकरणका कर्मचारीको मिलेमतोमै यी कामहरु हुने गर्छन्| हाम्रो इलाकामा रिडिंग गर्न आउने रिडर कहिल्यै कसैको मिटरमा हेर्दैन, उसले आफ्नै घरमा बसेर सबैको बीस युनिट लेखिदिन्छ र घरघरमा बाड्दै हिड्छ| म सानो हुँदा मेरो घर अगाडिको धुलेसडक ग्रावेलमा परिणत भयो| ग्रावेल गर्ने बेलामा आएको सरकारी परियोजनाको गिट्टी नलैजाने कुनै घर थिएनन्| बाटोमा हाल्न ल्याएको गिट्टी बलेसीमा हाल्ने, गमला बनाउने र गाइवस्तुलाई घाँसपानी खुवाउने डुंड बनाउने काम सबैका घरमा भए|

मेरो एउटा आफन्त पर्ने भाइलाई अस्ति बिदामा घर गएको बेला काठमाडौंमा भेटें| के गर्दैछौ भनेर हालखबर सोधेपछि भन्यो, असईमा भर्ती भिडेको छु लाग्ने निश्चित भईसक्यो| पढाई छाडेर किन जागिर यार, अझै पढ्नुपर्छ भनेर सुझाएँ| उसले हाँस्दै भन्यो पढेर नि के गर्ने दाजु? तालिम सकिएपछि राम्रो कमाइ हुनेठाउँ मिलाइदिने आफन्त पर्ने डिआइजी हुनुहुन्छ| सकेजति कमाउने हो दाइ, अहिले कमाइ भएपछि बढुवा पनि छिट्टै भइहाल्छ| हाम्रोमा सुरक्षाकर्मीका आफन्त हुन् या निजामतीका बडो गर्वको साथ भन्छन् उहाको त यति कमाइ हुन्छ, बाहिरबाट पनि यति मिल्छ| अर्थात नेपालमा सरकारी जागिर खाने अधिकांशहरु “एनि हाउ, पैसा कमाउ” अभियानमा हुन्छन्| अझै उनीहरुलाई म यस्तो ठाउँमा छु, यसरी यति कमाउँछु भन्नलाई कत्ति पनि लज्जाबोध हुँदैन| भ्रष्टाचार नगर्नेलाई पनि गर्नेले बाध्य बनाउँछ, उसका घरपरिवार, आफन्तले नै त्यहि बाटोमा हिड्न सिकाउछन्|

तराइका जिल्लाहरुसँग भएको खुला भारतीय सिमाबाट भन्सार छलेर ल्याउनु त्यहाको मान्छेहरुको दैनिकी हो| बिराटनगर छेउको जोगवनी नाकाबाट दिनहुँ लाखौँ रुपैयाँ राजस्व छली हुन्छ, त्यसरी राजस्व छल्नेमा कथित ठुलाबडा र ब्यापारीदेखि लिएर साधारण नागरिकसम्म पर्दछन्| धरानदेखि माथिसम्मका मान्छेहरु दशैं तिहारजस्तो चाडबाड होस् कि बिहेबटुलोजस्तो पवित्र कार्य जोगवनीको किनमेल नगरी धर पाउँदैनन् तीमध्ये धेरैले भन्सार छली गर्छन् र उनीहरु यसरि भन्सार छल्न सक्नुलाई आफ्नो चलाकी र पुरुषार्थ सम्झिन्छन्| अझ सत्ता र शक्तिसँग जोडिएकालाइ त झन् सजिलो छ| बिहेमा बेहुली र ढोगभेट गर्दा आफन्तलाई दिने भनेर ल्याएका पच्चीसवटा सारीहरु जोगवनी भन्सारमा निमन्त्रणा पत्र नभएर समाउँदा(बिहेको लागि आठ दश सारी ल्याउन भन्सारमा छुट दिने चलन छ, यदि बिहेको निमन्त्रणा छ भने) झापा दमककी एक महिलाले केपी ओलीलाई फोन गरेर छुटाएको मैले आफ्नै आँखाले देखेको छु| सरकारी कार्यालयमा भएका शौचालयका धाराका टुटीदेखि लिएर नारायणहिटीको संग्राहलयमा राखिएका सामान हुन या भत्किएको धरहराका इट्टा सबै चोरी हुन्छन्| हामि सबै कागजातहरु पुगेको सामान्य अवस्थामा पनि लाइनमा नउभिई आफ्नो सानो काम गराउन कर्मचारीलाई घुँस दिन्छौं| किनकि हामीलाई आफ्नो कामसँग मतलव हुन्छ न कि हाम्रो देशको प्रणाली र अन्य उपभोक्तामाथि पर्न जाने असरसंग|
कुनै मालपोत कार्यालय जानुहोस्, पक्कि बाटो भएको जमिनलाई ग्रावेल भनेर घरजग्गा सिफारिस बनाइन्छ र ग्रावेल बाटो भएकोलाई कच्ची भनेर| कारण, हामीलाई त्यसको राजस्ववापत दुइचार हजार फाइदा हुन्छ| सिफारिस बनाउन सम्बन्धित कर्मचारीले मानेनन् भने फाइदा हुने रकम कर्मचारी र जग्गाधनीले बाडेर लिन्छन्| देशलाई फाइदा हुने रकमको आधा रकम लिएर हामी मक्ख पर्छौं, भोज गर्छौं तर अहँ! राज्यलाई कदापी दिदैनौं| यदि हामीहरु नै यति भ्रष्ट र नैतिक पतन भएका छौं भने हाम्रा नेताले अलि बढी बेईमानी गर्नु जायज नै हुनसक्दछ|

तोरीको दानालाई आँखाको नजिकै राखेर टाढाको हिमाललाई हेर्ने हो भने हिमाल भन्दा तोरीको दाना ठुलो देखिन्छ| यस्तै हामी आफु र आफ्नालाई नजिक राखेर नेताहरुलाई टाढा पार्छौं अनि हामी स्वच्छ र पवित्र हुन्छौं, उनीहरु चोर र फटाह| बिदेशी ठेकेदारले गरेको स्वदेशी काममा बिना उपस्थिति तलव खाने मेरा गाउँलेहरु हुन् या सरकारी टिका लगाएर सरकारकै चोरी गर्ने निजामती कर्मचारीहरु हुन् सबै चोरहरु हुन्| बाटो बनाउन ल्याएको गिट्टी, ढुंगा, बालुवा र इँटा ल्याएर निजी प्रयोग गर्ने त्यहाका स्थानीय बासिन्दा हुन् कि सरकारी धाराका टुटी चोर्ने सामान्य मान्छे हुन् या त फेरी राजस्व छल्ने आम मानिसहरु हुन्| ती सबै भ्रष्टाचारी हुन्| कमिलाले आफुले बोक्नसक्ने भारिमात्रै हेर्छ, झिंगो मरेको भेट्टायो भने हिम्मत गर्छ तर मरेको गोरुसँग उसलाई मतलव हुँदैन| तर फेरी कुनै स्याल या गिद्दलाई मरेको फट्यान्ग्रोसँग केहि लिनुदिनु हुँदैन| त्यस्तै यहाँ जसले जति सक्छ उति खाएका छन्, लुटेका छन्| तर चोरमा सधैं नेताको मात्रै नाम आउँछ, कारण यहाँ लोकतन्त्र छ मनलागी बोल्न पाइन्छ| हाम्रा घरमा हुर्किरहेका ससाना नानीहरुलाई हामीले गर्ने कुराले असर परेर नेता भनेका गाली खानै चुनाव जितेर जान्छन भन्ने भ्रम परेको छ र तिनीहरु सोच्दछन् राजनीति भनेको एकदमै गन्धा र फोहोरी खेल हो| भोली देश बनाउने जिम्मा उनीहरुकै हो, अब हामीले थाहा पाउनेगरी यहाँ कुनै त्यस्तो कायाँपलट हुनेछैन| हामीजस्तै बातावरणमा यदि हाम्रा नानीहरु पनि हुर्किने हो भने अझै आधा शताब्दी यहाँ केहि होला भनेर आश नगरे हुन्छ| मैले कुल्चेर कमिला मारेको देखेर डेढ बर्षकी छोरीले पनि कमिला मार्नुपर्ने रहेछ भनेर बुझिन्| बाबुले सरकारी परियोजनाको बाटोमा ल्याइएका ढुङ्गा घरमा ल्याएको देखेको सानो छोरोले भोलि सडकबत्ती चोरेर ल्यायो भने अचम्म मान्नुपर्दैन| आज पाँच हजारको साइकलको भन्सार छलेको देख्ने नानीले भोली कारको तस्करी गर्दैन भन्न सकिन्न| भोली तीनै साना नानीहरु यो देशका नीति निर्माण गर्ने तहमा पुग्छन्, उनीहरु नै निजामती कर्मचारीहरु हुन्छन्| अनि यस्तो संस्कारमा हुर्किएका किशोरकिशोरीबाट हामीले कसरी सुन्दर भविष्यको कल्पना गर्ने?

अब हामीले आफ्नो बारेमा पुनर्विचार गर्नुपर्ने बेला आएको छ, यसरी नै अर्काको दोषमात्रै खोजेर हुनेवाला केहि छैन| खाने कर्मचारीहरु हुन् भने खुवाउने हामीहरु हौँ, अब खानेको मात्रै गल्ति भयो भनेर हुँदैन| गल्ति खुवाउनेको पनि हो| पहिला आफुपनि सुद्द हुनुपर्दछ अनि अर्कोलाई सुद्द बनाउन सकिन्छ| आफुमा खराब आचरण नरहेपछि अर्कोलाई दोष देखाउने हिम्मत र बुद्दी आउँछ| नत्र हामी आज अरुलाई फटाह, जाली, चोर र भ्रष्टाचारी भनेर एकोहोरो रट लगाउनुको कुनै तुक छैन| अझै तैंले सकेको तैंले लुट मैले सक्ने म लुट्छु भनेजस्तो जसको शक्ति उसकै भक्ति गर्ने हो भने न हाँडी रहन्छ न त कराही नै…. |

ejanata.comमा पढ्नुहोस्

संघियता धामीझाँक्री हो

ढ्यांग्रो बजाउँदै गरेका धामी, गूगलबाट साभार |
ढ्यांग्रो बजाउँदै गरेका धामी, गूगलबाट साभार |

यतिबेला हाम्रो समाज दुईफ्याक भएको छर्लङ्गै देखिन्छ, एकातिर छन् संघियाताबादी र अर्कोतिर बिरोधि | अझ जातीय संघियताबादी पनि मनग्यै भएकोले फ्याक्क धाँजा परेको घाउमा नुन दल्ने काम गरेका छन् | सामान्य मान्छेले सामान्य भाषामा भन्नुपर्दा देश संघियतामा जानु भनेको एकै घरधुरीमुनि धेरैवटा भान्छा चल्नुजस्तै हो | जसरि एकै घरधुरी मुनिका अभिभावकका स्वार्थले भान्छा छुट्टिन्छन, ब्यबहार अलग्गीन्छ र उनीहरुलाई अफसोस हुन्न त्यसरी नै संघियताबादिहरुको पनि मनोकामना पुरा हुन्छ र उनीहरुले आँफुलाइ खुसि नै देख्छन | तर सिंगो परिवार टुक्रिएर स-साना परिवारमा बाडिदा जसरि साना भुराभुरी अल्मल्लिन्छन त्यसरी नै हामि जनता अन्योलमै रहन्छौं | बिस्तारै एकै घरका कोठाकोठामा बाडिएका परिवारलाई बच्चाले काकाको घर, बडाउको घर भनेर बुझ्न थाल्दछ त्यसरी नै हामि फलानो राज्य र ढिस्कानो प्रान्त भनेर बुझ्न बाध्य हुन्छौं | मैले दशबर्षे प्रवास बसाइमा देखेको कुरा भारतीय नागरिकहरु अर्को भारतीय नागरिकलाई केहि पर्यो भने पहिले हेर्छन त्यो कहाको हो भनेर | राजस्थानी, बिहारी, मद्रासी भनेर उनीहरु बिचमै ठुलो परखाल हाल्छन | अझैसम्म मैले देखेको छैन कुनै नेपालीले अर्को नेपालीलाई त्यो हदसम्मको विभेद गरेको |

यतिबेला गौरवशाली पार्टीका महान नेताले सडक तताउन थालेका छन्, केहि अदुरदर्शी मनुवाहरुको भिड जम्मा गरेर | मलाई आजकै यौटा घटना झल्झली याद आउँछ | आज मैले काम गर्दै गरेको कम्पनीको मेरो डिभिजन प्रमुख राजिनामा दिएर आफ्नो देश फर्क्यो | सातसालदेखि ऊ यस कम्पनीमा थियो एउटा नया डिभिजनको स्थापना गरेर कम्पनीको भलो गरेको मान्छेले एक्कासी संगठन छोडेर जाँदा सबै छक्क परे | हामीले काम गर्दा प्रयोग हुने सरसामान भारतको पंजावमा र दुबईमा बन्छन | त्यहादेखी ल्याउन परिवहन खर्च धेरै नै लाग्छ | फलामले बन्ने सामान बनाउन साउदीमा सस्तै पर्छ | उसले सोच्यो त्यस्तो प्लान्ट यहि राख्ने अनि भारतको भन्दा सस्तो ईन्धन खर्च गर्ने, सस्ता कामदार लगाउने अनि किनेको एकतिहाई मुल्यमा उत्पादन गर्ने र त्यसलाई आफ्नो कम्पनीमा पनि उपयोग गर्ने अनि अझै ज्यादा उत्पादन गरेर बेच्ने पनि | यसबाट कम्पनीलाई दोहोरो फाईदा थियो | माथ्लो ब्यबस्थापनले स्वीकार गर्यो र अनुमति दियो अनि म्यानेजरले भारत, दुबई र इटाली पुगेर अध्ययन गर्यो र प्लान्ट राख्ने तयारि थाल्यो | इटालीका प्राबिधिक अनुबन्ध गरेर प्लान्टको औपचारिक थालनी गर्ने बेलामा माथिल्लो ब्यबस्थापनले अर्कै मान्छेलाई फ्याक्ट्री म्यानेजरमा नियुक्ति गर्यो | उसले आफुलाई अपमानित र शोषित भएको पायो र रिजाइन दियो |

यो कथा ठ्याक्कै हाम्रो प्रचण्डसँग मिल्छ तर फरक यत्ति छ कि प्रचन्डलाई माथिल्लो ब्यबस्थापन अर्थात जनताले एक मौका दिएका थिए | त्यो मौकाको सहि सदुपयोग गर्न नसकेर दोश्रो संबिधानसभामा लज्जास्पद हार बेहोर्नुपर्यो | मेरो म्यानेजरलाई त्यस्तो मौका मिलेन | तरपनि उसले आँफुले ल्याएको एजेन्डा अर्काको नाम जाने भयो भनेर बिस्मात गरेन र हिड्यो | प्रचण्डले संघियता र संबिधानसभालाइ हाम्रो एजेन्डा बारबार भनेका छन् | अब यो अर्कैको हात जारि हुने भो भनेर उनलाई औधि छटपटी भएको छ र त्यसलाई भाँजो हाल्न कम्मर कसेर लागेका छन् | यति कुरा बुझ्नलाई माथापच्ची गर्ने जरुरतै पर्दैन, संविधानसभामा उनको भूमिका हेरे पुग्छ | प्रतिपक्षी दलका नेता, राजनैतिक संयन्त्रका अध्यक्ष र आन्दोलनकारीका संयोजक के यि तिन भूमिका परस्पर बिरोधि छैनन् र ? कामरेडले यि तिन फरक फरक तर बाझिएका भूमिकालाई कसरि ब्यबस्थापन गर्छन ?

एकथरी कथित विद्वानहरु संघियताको यसरि प्रचार गर्दैछन कि यो संजीवनी बुटी हो | केन्द्रिकृत सासनको दुहाइ दिएर संघियतालाइ विकल्पको रुपमा अघि सारिनु आत्मघाती हुनसक्छ | अझ जातीय संगठनले जातीय आधारमा संघियता माग्दैछन | पूर्वका नौ जिल्लालाई लिम्बुवान भनेर कसरि भन्न सकिन्छ ? के त्यहाँ लिम्बु बाहेक अरु बस्दैनन् र? केन्द्रले ताप्लेजुंगलाइ देखेन भनेर संघ बनाउदैमा धनकुटाले देख्न सक्ला? देश संघियतामा जानेबित्तिकै भोलिबाट फटाफट बिकास हुने हैन | सबै ठाउँ र क्षेत्रलाई संघले पनि हेर्न र सम ब्यबहार गर्न नसक्ला अनि कोहि पिछडिएलान के अनि फेरी तिनीहरुलाई पनि अर्को संघ घोषणा गर्ने? जातको आधार बनाउने भने आज मिलेर बसेको समाजमा भोलि भाँडभैलो मच्चिन्छ | कसैले संघियताको कारणले चीनमा बिकास भएको रसियाले प्रगति गरेको अमेरिका धनि भएको तुच्छ उदाहरण पनि दिने गरेको पाइन्छ | संघियताले हैन परिश्रम र मिहेनतले त्यो सम्भव भएको हो भनेर तिनीहरुलाई कसैले बुझाउनु जरुरि पनि छैन | सबै बुझेका छन् तर बुझ पचाउछ्न | दिनभरी चोकमा गएर तास खेल्ने समाज छ हाम्रो | करेसाबारी बाँझै राखेर हामि तरकारी किन्न बजार जान्छौं | आफ्नो जमिनमा भएका रुखका डाले घाँस ओईलिएर झर्छन खोरमा बाख्रा र गोठमा गाइ कराईराखेको हुन्छ तर हामि चिया पसलमा सन्नी लियोनका चर्चा गरिरहन्छौं | लहलह धान फल्ने खेत बाँझै राखेर खाडी र मलेसिया पुग्ने हामि, श्रीमतीलाई बजारको डेरामा राखेर स्काईपको भिडियो कलमा प्रेम गरिराखेका हुन्छौं | अनि कसरि संघियताले देश बिकास हुन्छ भनेर भन्छौं? देशको बिकासको लागि हामीले रातोदिन मिहेनत गर्नुपर्छ | चोकमा क्यारेम, लुडो र तास बन्द हुनुपर्छ | खिया लागेका हलो, कोदालोलाइ अर्जाप्नुपर्छ | हामीसँग भएको जमिन हो, जल हो त्यसको अधिकतम उपयोग गर्नु पर्दछ | निर्यात गर्न सकिन्न ठिकै छ कम्तिमा आयातलाई रोक्न सक्नु पर्दछ |

छोरीले खाने चटपटे र पानिपुरिमा खर्च भएको पैसा सिधै भारत पुग्छ | दिनभरी कुल्फी संग नानीहरुले हाम्रो पैसा विनिमय गर्छन, कुल्फी पग्लेर सकिनुअघी नै पैसाले दशगजा नाघ्छ |

अझैपनि म मेरो गाउँमा एउटा खाट बनाउनुपर्यो भने भारतबाट मिस्त्री आउँछ | एउटा मेशिन बिग्रियो भने भारतबाट मेकानिक आउँछ | हामि खाडीमा पसिना बगाएर पैसा पठाउछौ तर श्रीमतीले भारतमा बनेको छुरा, टिका, लिपिस्टिक र क्रीममा खर्च गर्छिन त्यहि फोटो फेसबुकमा हालेर मख्ख पर्ने हामि संघियताले देश बन्छ भन्छौं | छोरीले खाने चटपटे र पानिपुरिमा खर्च भएको पैसा सिधै भारत पुग्छ | दिनभरी कुल्फी संग नानीहरुले हाम्रो पैसा विनिमय गर्छन, कुल्फी पग्लेर सकिनुअघी नै पैसाले दशगजा नाघ्छ | खै हामीले बुझ्न नचाएको हो कि नसकेको हो | हामि भारतले हस्तक्षेप गर्यो भन्छौं जबकी भारत बिना हाम्रो एक काईयो केरा पनि बिक्दैन |

मेरी श्रीमती पढेलेखेकी हुन्, प्लस टु राम्रै अंक ल्याएर पास गरेपछि उनलाई नर्सिङ पढ्ने ठुलो इच्छा थियो | बिचमा हाम्रो बिहे हुने भएकोले पढ्न नसकिने भनेर कसैले सल्लाह दिएछ र बि एड थालिन, अहिले तेश्रो बर्ष हो | अस्तिमात्रै एकसाल पुगेकी छोरी सिकिस्त भईन | घरछेउकै सिएमएको मा देखाइछिन् | त्यसको औसधिले केहि लछारपाटो लाएन र हिजो आत्तिदै बालरोग बिशेषज्ञकहाँ पुर्याइन केहि दबाई दिएछन् | तर आजपनि बिमार जिउंका तिउँ भएपछी बिहानै धामिकहा पुर्याईन | कसैले भनिदिएछ लागो लाग्यो होला, पिचासले भेट्यो होला | धामीले चामल फुकेर दियो रे | धामीले झारफुक गरेको केहीघण्टादेखि नानीलाई बिसेक हुनथाल्यो रे | मेरी श्रीमतीलाई पनि धामीको बिश्वास लाग्दैन | डाक्टरले भलो गरेन भनेर सन्तोककै लागि लगेकी होलिन तर हिजो बालरोग बिशेषज्ञले दिएको औसधिले असर गरेर निको हुनथालेको कुरामा हामि दुवै सहमत छौं |

हो ठ्याक्कै त्यस्तै हो संघियता | हिजो सकस भयो उत्पीडन भयो भनेर राणा फालियो | फेरी लगत्तै राजा लागे | पछी एकदलीय ब्यबस्था पनि फालियो | अझै व्यथा बीसको उन्नाईस भएन | जनयुध्दमा फाल हानियो | अहिले गणतन्त्रको अभ्यासमा छौं तरपनि हाम्रो चित्त बुझेको छैन | त्यसैले हामि अब धामी र झाँक्रीको सहारा लिन खोज्दै छौं | हामीले आँफुलाई कहिल्यै अगतिलो देखेनौं | आँफुले गरेका सबै काम राम्रा र हामि आँफु ठिक भन्यौं | बिग्रिएको सबै अपजस प्रणालीलाई दियौं | प्रणाली आँफैमा मुख्य कुरा होईन | राजा राखेरै पनि बिकासको उत्कर्षमा पुगेका देशहरुको सुची लामै छ | त्यसैले प्रणालीलाई परिवर्तन गर्नु अघि हामि आँफैलाई पुनर्विचार गर्ने हो कि? यो युग चिकित्सा विज्ञानको हो कम्तिमा अब बाइसे चौबिसे जमानाको धामीझाँक्रीको कुरा नगरौं |

सबैको जय होस् |

एउटा नक्कली माओबादी कारवाही

‘आइन्दा गाँजा खान्छस् कि खाँदैनस्?’ एउटा धोद्रे स्वरले बन्दुक सोझ्याउँदै सोध्यो। दुवै हात जोडेर लम्पसार पर्दै त्यो अपराधी घोषित लुते मान्छेले भन्यो, ‘खाँदिन हजुर, खाँदिन।’ अर्को अग्लो र पातलो छाँया बोल्यो, ‘फेरि रक्सी खाएर बुढीलाई र छोराछोरीलाई कुटेको, बेगारी भएर गाउँगाउँ हल्लिएर हिँडेको हामीलाई थाहा भयो भने तँलाई के गर्नु?’

काँपेका हात पूर्ववत जोडेरै लुते अपराधीले रुँदै भन्यो, ‘मलाई भाटाभाटाले हान्नु हजुर।’ सर्लक्क मिलेको लामो कपाल बोकेको होचो कदको तर छिप्पिएको अर्को छाँया कड्कियो, “तँलाई भाटा हान्ने मात्रै होइन, यसको छवटै गोली तेरो छातीमा उतार्छु।’ कालो पिस्तोल मधुरो जूनको प्रकाशमा चम्क्यो। जीर्ण घरको संघारमै मजेत्रोले आँखा पुछ्दै अब्यबस्थित बसेकी अपराधीकी अर्धांगिनी पिस्तोल चम्किँदा करेन्ट लागेजस्तो गरेर जुरुक्क उठिन् र डाँको छोडेर रुन लागिन्। ‘अब जाउँ यसलाई पुगेजस्तो छ,’ उही पुरानो धोद्रे स्वर फेरि सुनियो। ‘अहिल्यै कहाँ जाने कमरेड? यतिले यसले चेत्दैन। यसलाई केही न केही कारबाही त गर्नेपर्छ,’ एउटा कलिलो लाग्ने तर पूरापूर आक्रोशले भरिएको स्वरले निर्ममतापूर्वक बोल्यो। ‘उसो भए बीसपटक उठबस गर,’ अग्लो र पातलो छाँयाले सजाय सुनायो। तमासाको बाँदरजस्तो त्यो लुते अपराधी फटाफट उठबस गर्न थाल्यो। एकपटक बस्दा र उठ्दा पाँचपटक स्वाँस्वाँ गर्ने त्यो निरीह बीस भन्दै थचक्कै बसेको मात्रै के थियो, अघिदेखि पछाडि उभिएको छाँया अघि सरेर अझै दशपल्ट गर्न आदेश दियो। स्विच थिच्नासाथ घुम्न थाल्ने पंखाजस्तै लुते अपराधीले अर्को दश गन्यो र भुइँमा पछारियो। ‘अब फेरि हामी आउनु नपरोस्’ भन्ने धोद्रे स्वरको बोलीसँगै त्यो टोली आँगन छोडेर ठूलो आलीमा चलायमान भयो। सबका सब मुख छोपेका जिउडाल र हाउभाउले किशोरावस्थाका जस्ता देखिने १०/ १२ जनाको त्यो जत्था मूलबाटोमा निस्कियो। यहाँ आइपुगेर मिसन सकिएको घोषणा भयो अनि टोली डिसमिस।

माथि उल्लेखित घटना र पात्रहरु कुनै आख्यानका होइनन् मेरै आफ्नै भोगाइ हो। त्यो धोद्रे स्वर मेरै हो अनि ती कलिलो स्वर र पछाडि उभिएको छाँया तिनै अपराधी भनिएका हाम्रो गाउँका विपन्न तर कुलतमा लागेका दाजुका छोराहरु हुन्। अरु सबै मेरा साथीहरु। बन्दुक र पिस्तोल नक्कली। बाबुको रक्सी र गाँजा खाने अनि आमालाई र आफूलाई पिट्ने बानीदेखि आजित भएर तिनै साना किशोर भाइहरुको योजना थियो यो। अन्य केही उपाय नबचेर एकरातका लागि हामी माओवादी बनेका थियौँ तर कसैको नोक्सानीको लागि होइन हाम्रै फाइदाको लागि। यो घटनापछि केही दिनसम्म तिनका बाबु भलाद्मी भए रे।

५७/५८ सालमा कथित जनयुध्दले राम्रो क्रेज पाएको थियो। त्यसै त किशोर मन त्यहीमाथि माओवादीका नाराहरु आकर्षक थिए। सदियौंदेखि चलिआएको सामन्ती राजतन्त्र अन्त्यको मुद्दा मेरो लागि भोकालाई खीर भनेजस्तै थियो। साथीभाइबाट प्राप्त पर्चाहरु, बामपन्थी र माओका किताबहरु, गुण्डागर्दी अन्त्यका लागि चालिएका कठोर कदमहरु, भूमिहीन गरिब किसानहरुका पक्षमा गरिएका वकालतहरु, जुवातास र रक्सिबाजीहरुलाई तह लगाउने उपाय मेरा लागि प्रिय भए। औपचारिक रुपमा माओबादलाई आत्मसात नगरे पनि मभित्र माओबाद र कथित जनयुद्धप्रति अगाध श्रद्धा र झुकाव जागेको थियो। लुकिछिपी माओबादीका हरेक क्रियाकलापमा आबदद्धता जनाउनु मेरो दिनचर्या थियो। स्कुल नै हापेर हामी विभिन्न कार्यक्रममा जान थालिसकेको थियौँ। एकपटक मोरङको तेतरियामा एकजना माओवादी कार्यकर्ताको शोकसभामा जानलाई हामीले सौंठा उच्च माविका सबै बिध्यार्थीलाई अनुरोध गर्यौं, सबैले जान नमाने पनि कक्षाहरु बन्द गरेर हामी लाग्यौँ तर इटहरादेखि अलिक अगाडि पुगेपछि हामी चढेको फूलबारी ट्राभल्सको पछाडिपट्टिको एउटा चक्का खुस्किएर धानबारीमा पस्यो, धन्य हामीलाई केही भएन। त्यतिबेला गाउँ स्तरका नेता र कार्यकर्ताहरु सबै साथीहरु नै थिए। म नेबि संघमा थिएँ। तर मेरो लगाव र झुकाव थियो क्रान्तिकारीप्रति।

हेर्दाहेर्दै माओबादीहरु दिन दुई गुणा र रात चारगुणा बढ्न थाले। गाउँ इकाइ, एरिया इकाइ भन्दै हली गोठालाहरुलाई अघि सारियो। आफ्ना साहु र अन्नदाता बिरुध्द भड्काइयो, यतिसम्म कि हतियारको भरमा जे पनि गर्न थाले उनीहरु। उनीहरुसँग असहमति राख्ने सबैलाई अनेक आरोप लगाएर कठोर सजाय दिने काम भयो। यतिसम्म कि आलीको घाँस काट्न नदिएको निहुँ र गाई फुकेर मकै खाइदिएको झगडा पनि जनयुद्धको मुद्दा भयो। गाउँको प्लस टुको पढाइ सकिएपछि मैले दाजुसँग बनेपामा बस्ने मौका पाएँ।  दाजु कामको सिलसिलामा बनेपामा थियो, बनेपा मतलब काभ्रे र काभ्रे मतलब माओबादीको गढ। त्यहाँ बसेर माओबादीलाई चिन्न झन् मद्दत मिल्यो।  एसओएस बालग्राम नजिकै आइटी पार्क बन्दैथियो। त्यो बेलामा एसियाकै सबैभन्दा ठूलो आइटी पार्क भनेर प्रचार गरिएको त्यो निर्माणस्थल नजिकै मेरो बास थियो।

एकदिन माओबादीको प्रेसर कुकर बमले बन्दै गरेको बिल्डिङको भित्ताहरु चर्कायो। अरु के के भयो कुन्नि त्यही घटनाले मेरो मनको अन्तरकुन्तरमा बसेको माओवादी प्रतिको लगाव पनि चकनाचुर भयो।  हिजोसम्म ठीक लागेका माओबादीका कार्यहरु आज मलाई बिध्वंसभन्दा बढ्ता केही लागेन। त्यसपछि पो मैले देखें पुरानो सत्ताको निसानी भन्दै आतंककारीले पुल, सरकारी भवन, प्रहरी चौकीहरु कति निर्ममतापूर्वक भत्काइरहेका थिए। हो, मैले त्यहीँदेखि माओबादीलाई आतंककारी देख्न थालें। मेरो बुबाहरुले बहुदल आएपछि किसानहरुको हितमा भनेर गाउँमा साना किसान खोल्नु भएको थियो। एकरात माओबादीको एउटा जत्थाले सबै कागजपत्रहरु लुटेर लग्यो र त्यहाँ भएका भौतिक संरचनाहरु जलाइदियो। गरिब किसानहरुले आफ्नो हितको लागि स्थापना गरेको साना किसानमा सरकारको केही थिएन। बुबाले ४० हजार ऋण लिनुभएको थियो। अलिपछि फेरि खोल्ने भनेर गाउँका टाठाबाठा लागिपरे, पुरानो ऋण आफैँले सम्झेर बुझाउने अनि संचालन गर्ने भनेर ऋण चुक्ता गर्न लगाइयो र फेरि जलाइयो। बुझ्नेलाई धेरै टाउको दुखाउने जरुरत थिएन, राज्य र सत्ताको नारा दिएर गरिबलाई ठग्नेमा माओबादी अग्रस्थानमै आउँछ।

देशको लागि भन्दै युवालाई जबर्जस्ती होमियो, स्कुलबाट बिध्यार्थीहरु अपहरित भए। बुर्जुवा शिक्षा पढेर काम छैन पछि जनबादी सरकारले डिग्री दिन्छ भन्दै पढ्न दिएनन्। तँ फलानो एरियाको कमान्डर, तँ फलानो इकाइको इन्चार्ज भन्दै दसैँमा आशिर्बाद दिएजसरी जिम्मेवारी दिएर रातारात गाउँका कति हलीगोठालालाई, कमैयालाई, मोहीलाई अघि ल्याइयो। लुट्न लगाइयो आफ्नै अन्नदाताहरुको धन सम्पति। आज पैसा र पहुँच हुने अनि तिनै बुर्जुवा शिक्षाको डिग्री भएकाकै हालिमुहाली छ। मुन्द्रा लगाउने केटाको कान काटिदिने माओबादी र गुण्डाको जत्था पाल्ने माओबादीमा कति फरक छ? पेन्ट लगाउने केटीको पेन्ट तलदेखि पेटीघरसम्म काटिदिएको आफ्नै आँखाले देखेको हुँ मैले सुनबर्सी मेलामा। अहिले माओबादीले आफ्ना सभासदहरुलाई पोशाक नै कोटपेन्ट दिएको देख्दा के सोच्दा हुन् ती चेलीले? तास खेल्नेहरुलाई त्यही तासलाई टुक्रा पारेर कोच्याइयो आज तिनीहरु नै क्यासिनोमा पहरा दिन्छन्। जनसरकारका कुनै पनि जनताले धर्म र संस्कृति मान्न पाउँदैन भनेर कोरामा किरिया बार्न बसेका किरियापुत्रीलाई कुटपिट गरेको हिजै जस्तो लाग्छ। आज त्यही जत्थाको नाइके अधिवेशन छाडेर मानसरोवर दर्शन गर्न जान्छ। दिनभरिको हिँडाइ र रातभरिको युध्दले थाकेका लडाकुलाई गाई काटेर खान बाध्य पार्नेहरु आज पवित्र हुन गहुँत खान्छन्।

नन्दप्रसाद अधिकारीले आफ्नो मृत छोराको हत्यारालाई कारबाहीको माग गर्दागर्दै देह त्याग्न बाध्य भए। अहिले आएर यसलाई अधिकारकर्मीहरु र सरकार जिम्मेवार रहेको भन्ने बहस चलाइए पनि यसको मुख्य आरोपी पूर्वआतंककारी नै हुन्। एउटा जिम्मेवार र राष्ट्रिय राजनीतिमा आइसकेको पार्टीले हत्यारालाई कारवाहीमा मद्दत गर्न नसके पनि ती बुढाबुढीसँग हात जोडेर माफी माग्न सक्नुपर्थ्यो। राम्रो काम गर्दा भएको गल्ती भनेरै भए पनि सम्झाउन सकिन्थ्यो कि! सत्य निरुपण तथा मेलमिलाप आयोगको गठनमा भएको ढिलाइमा के सरकार मात्रै दोषी छ र?

सेतोपाटिमा: प्रकाशित मिति: सोमबार, आश्विन २७, २०७१ १६:२९:२९

http://setopati.com/blog/18651/

पहिचानका कुरा

पहिचानका कुरा

श्री सौंठा उच्च मा. बि मा म ६ कि ७ मा पढ्दाको कुरा, हामिलाई बिज्ञान पढाउन नयाँ सर आउनु भयो, उहाको नाम थियो शुरेश बिश्वास | कस्तो नबुझिने कुराहरु भन्दै हामिलाई पढाउनु भयो हामीमध्ये कति त के भनेको नबुझेर अलमल पर्यौ | नेपाली त नेपाली नै बोल्नुहुन्थ्यो तर अर्कै लवजमा | पढाउदै जाँदा “चिन लगाउ” भन्नु भयो नबुझेर ट्वा पर्यौ हामि | “हामीले भन्यो चिन लगाउ, किन मानिलिदैन” भन्दै कड्किन थाल्नुभयो | हैरान भएर “मार्क करिलिनु” भनेपछि थाहा भयो चिन्ह लगाउ भन्नु भएको रहेछ | बिस्तारै बातावरण सहज भयो | त्यस्तै म कतारमा हुँदा हाम्रो एकजना साथि थियो अकलेश्वर मण्डल, जनकपुरको | हामि गाउँमा हुँदा मधेसको मान्छेलाई “भेले” र भैया भन्थ्यौ | धेरैजसो मधेसीहरुले व्यापारिक र हिडडुल गर्न प्रयोग गर्ने भएकोले ठुलो हिरो जेट साईकलको नामै भैया साइकल थियो | पछी कतार पसेपछि थाह भयो धोति पनि भन्दा रहेछन हामीले काम गर्ने कम्पनीमा नेपाली तराईबासी र इन्डियन खासगरी यु. पी र बिहारबासिलाई धोति भनिन्थ्यो | अकलेश्वरलाई छुट दिने कुरै भएन, सबैले “ए ! धोति, ओइ धोति” भन्दा भन्दा एकदिन उसलाई रिस उठेछ | संखुवासभाको भण्डारी साथीलाई “के धोति भन्छस् मलाइ, धोति नलाई तँ चोखिदैनस, धोति नलाई तेरो बिहे हुँदैन” भन्यो | “ए धोति मेरो कसरि बिहे हुन्न, कसरि म चोखिन्न?” जंगियो भण्डारी मित्र पनि | अनि बिस्तारै मण्डलले भन्यो “ धोति नलाई तेरो ब्रतबन्ध हुँदैन, ब्रतबन्ध नभई बिहे हुँदैन | अनि तेरो बाबुको किरिया बस्दा पनि तैंले धोति नफेरी चोखिदैनस” | भण्डारी मित्र एक भन्नु न दुई भन्नु हुँदै चुरोट सल्काउन थालें अनि मैले पनि मेरो ब्रतबन्ध भएको सम्झें, लाख नमान्दा नि बुबाले हप्काई हप्काई पहेलो धोति लगाइदिएर लजाउँदै बसेको सम्झें अनि सम्झें हजुरबाको दुखमा बसेका बुबा र काकाहरुलाई | कोहि धोति कोहि कछाड अनि टाउकोमा सेतै रुमाल | मनमनै प्रण गरें हामि आँफैले धोति नलाई नहुने रैछ अनि किन अर्कालाई धोति भन्नु | एउटा कालोले अर्कोलाई काले भनेजस्तो त्यहाँ देखि आजसम्म मैले कसैलाई धोति सम्बोधन गरेको छुँईन |

मेरो एकजना सबैभन्दा मिल्ने र आत्मीय साथि छ मेरै घर छेउको, लगौटी त हामीले लगाएनौ तर भन्दै लाँदा लगौटिया यार भनौं | उसका बुबाहरु खोटांगका राई हुन् चामलिंग | उ जस्तै धेरै परिवार खोटांग छोडेर त्यहाँ बस्दै आएका छन बिगत झन्डै आधा सताब्दी देखि | त्यो साथीलाई तिप्पा, तिम्मा, छेमा, दिकु र पाछा भन्न बाहेक अरु केहि आउदैन चामलिंग भाषामा | पाछा भन्न त आउँछ तर उसको पाछा के हो त्यो पनि शायद थाहा छैन | कतारबाट खोटांगे राईहरुको संगत गरेर फर्केपछि उसलाई वाशिम र वाप्पा भन्न मैले नै सिकाएँ, खान चैं उसले | कहिलेकाही म सोच्छु उसको बारेमा उसलाई कस्तो लाग्दोहोला आफ्नो भाषा नजानेकोमा, राइहरुको बाक्लो बाहुल्यता भएकोले धन्न साकेला चैं नाच्छन है हाम्रो गाउँमा तर मेरो साथि त्यै पनि जान्दैन बरु केहि क्षेत्री बाहुन मित्रहरु वाशिमको बलले नाची टोपल्छन |

एकपटक कतारमा म अलि पुरानो र काम जान्ने भएकोले र नेपाली पनि भएकोले नेपालबाट आएका नयाँ कामदार मेरो समुहमा दियो पाँचजना र सुपरभाइजर मद्रासी मामाले यिनीहरुलाई काम सिकाउनु तेरै नेपालका हुन् भन्यो | सिन्धुलीका तामांग रहेछन तर पाँचैजना नेपाली बोल्न नजान्ने मुश्किलले अलि अलि बुझ्ने तर फर्काउन नसक्ने | एकै जात र भाषाका मान्छे एकै ठाउँमा बस्दा सम्म बाहिरि भाषाको प्रभाव धेरै नै कम हुने रहेछ | राजा पृथ्वी नारायणले गरेको नेपाल एकीकरणको समिक्षा गर्ने बेला होईन यो, त्यतिको औकात पनि छैन मेरो | तर यति भन्न सक्छु एकीकरणपछी आजको यो नेपाल बनाउन यदि कसैको योगदान छ भने त्यो सुरेश सरको छ, अकलेश्वरको छ अनि मेरो साथीको छ | हामीले के गुमायौ र बिशाल नेपालको लागि? ससाना राज्य रजौटा र भाइ भारदारी अनि हदै भए अलिकति बिर्ता गुमायौं होला तर मेरा साथि अकलेश्वरले आफ्नो पहिचान गुमायो, मेरो साथीले आफ्नो संस्कृति र भाषा गुमायो | मेरो साथि उसका संस्कृति, भाषा र पहिचानको चिहान माथि गाडिएको लिंगे पिङ्ग खेल्न हरेक दशैं र तिहारमा म संगै जान्छ | हाम्रो समाजमा देवताले राक्षसमाथि विजय प्राप्त गरेको खुसीमा विजयादशमी मनाउने गरिन्छ र थप्छ, ति राक्षस किराँतहरु थिएँ | यदि साच्चै यस्तै हो भने मेरो साथि आफ्ना पुर्खाको रगतले मुछेको चामल लगाएर म जत्तिकै खुसि हुन्छ | ऊ आफ्नो भाषाको हत्यारो भाषामा म संगै देउसी खेल्छ | यो भन्दा बढी उसले यो देशको लागि के गरोस? तराइबासिहरुले पहाडेलाई बोलाउँदा ससम्मान पहाडी भन्छन, तर हामि आँफैले आँफैलाइ पहाडे भन्छौं | अझ मधेसमा बस्नेलाई मधेसी नभनेर मदिसे भन्छौं | कसैले मदिसे भन्यो भने मलाइ औधि चित्त दुख्छ, मधेसमा जन्मेकोले म पनि मधेसकै हुँ, झन् कालो र गालाभरि दाह्री भएकोले यता खाडीमा धेरैले साच्चै मधेसकै सम्झिन्छन र म आँफुलाई चिनाउदा मैथिली बोलेर मधेसकै बताउछु | कतिले त पत्याउछन | तर मलाइ मदिसे हैन मधेसी भन्नुहोला |

केहि सालहरु देखि जातीय पहिचानको कुरा जोडतोडले उठिराखेको छ | आफ्नो संस्कृति, भाषा र पहिचानको लागि जुनसुकै मूल्य पनि चुकाउन तयार हुनुपर्छ | तपाइँ कल्पना गर्नुस, तपाई एउटा बिरानो शहरमा हुनुहुन्छ अर्कै रंगका मान्छे, अर्कै भाषा बोल्ने, हाउभाउ र शारीरिक बनावट पनि अर्कै भएका र तपाइले आफ्नो बाटो सोध्नु पर्ने छ भने कस्तो होला तपाईलाई? सम्झिदै पनि सकस हुन्छ |  शायद यस्तै सकस भयो होला मेरो साथीको कुनै पुर्खालाई नेपालको एकीकरण पछी | पहिचानको लडाइको नाममा अरुलाई निषेध र बन्देज गर्ने कुरा पनि उत्तिकै उठेका छन्, यसैको ज्वलन्त उदाहरण हो “क्षेत्री बाहुन काटिन्छ आलो रगत चाटिन्छ” भनिनु | क्षेत्री काटेर कसैको पहिचान पुनर्स्थापित हुँदैन | यहि नारालाई आधार मानेर जनजातिहरु खासगरी लिम्बुवान र खुम्बुवानहरु धेरै आलोचित हुने गरेका छन् | कुनै मान्छेलाई तपाइले अनुहार देख्दा चिन्नुहुन्छ भने त्यसलाई पछाडिबाट चिन्न नसक्ने पनि हुन सक्छ | मान्छेको शरीर अगाडी र पछाडी भएजस्तै हरेक कुराका दुई पाटा हुन्छन | यो नारालाई अर्को पाटाबाट हेर्ने हो भने कसैलाई मान्छे काट्ने रहर हुँदैन, तर यो हदसम्मको बनाउनमा हाम्रो पनि बिशेष योगदान छ भनेर बुझ्नु जरुरि छ | हुन त यो अतिवादीको कुकृत्य हो तर हामि यस्तै यथास्थितिबादी भईराख्ने हो भने सामान्य जनजातिले पनि यो नारालाई व्यवहारमा उतार्न कोसिस नगर्ला भन्न सकिन्न |

मेरो गाउँ आधा आर्य र खसहरु र आधा खुम्बुवानको बसोबास भएको गाउँ हो, कुरा ०६९ सालको मेरो एकजना साथि बिहे गर्न छोटो बिदामा घर गएको थियो संयोगले म पनि बिदामा घरै थिएँ | साथीले राई परम्परा मुताबिक केटि पहिल्यै ल्याईसकेको थिएछ, निम्तो बाड्ने काम पनि सकियो बिहेको दुईदिन अघि उसको बुबा बित्नु भयो | दाहसंस्कारको काम सकिएपछी राइहरुको छलफल शुरु भयो बिहे के गर्ने भन्नेबारे | केहिले भने निम्तो बाडी सकेकोले खास फरक पर्दैन पाँच दिनको काम सकेर बिहे गरिदिने तर केहि बुद्दिजिविले भन्नुभयो यहाँ क्षेत्री बाहुन पनि बस्छन छ दिन अघि मान्छे मरेको घरमा आएर भोज खाइदिदैनन् उनीहरुको नजरमा हामि गिर्छौ बिहे सके अर्को साल नसकेपनि कम्तिमा ४५ दिनपछि मात्रै गर्नुपर्छ | अन्त्यमा बिहे अर्कोसाल गर्ने निर्णय भयो अर्कोसाल भाग्यले म पनि घरैमा भएको बेला उसको धुमधामले बिहे भयो तर दुर्भाग्य म उपस्थित हुन सकिनँ | यति सहिष्णु र बुझ्झकी अनि अर्काको संस्कारलाई आदर गर्नेले मेरो टाउको काट्लान र रगत चाट्लान भनेर म बिश्वास गर्दिन | यस्ता उत्तेजक नारा दिएर समाज भड्काएर आफ्नो दुनो सोझ्याउनेले बेलैमा बुझे हुन्छ |

“बाउले बिहे गर्देनन पोरपनी,

भत्काइदिन्छु सुँगुरको खोरपनी…”

कुनै समय निकै चर्चित प्रकाश ओझाको यो गीत कसले लेखेको मलाइ थाह छैन तर गीतकारलाई म भ्रामक र युवालाई पथभ्रष्ट बनाउने व्यक्तिको रुपमा लिन्छु | आँफु केहि गर्न नसकेर बाउको भरमा, बाउको घरमा बस्नु अनि अझै छोरो बेगारी छ बुडी पाल्न सक्दैन नाति नातिनाको बिजोग हुन्छ भनेर बिहे नगरिदिने बाउलाई खोर भत्काउने धम्कि दिनु नालायकिपन हो | बाउले बिहे गर्दैनन् भने सुँगुरको खोर भत्काउने हैन बरु त्यहि खोरको आडमा खोर भन्दा ठुलो घर बनाउने, एउटा ईलम गर्ने अनि आँफै केटि खोजेर बिहे गर्ने नि | यसो गर्दा बाउको ईज्जत जाँदैन बरु बाउले गर्व गर्छन छोरो लायक भएछ भनेर | त्यस्तै राज्यले भाषा खोस्यो, पहिचान खायो र संस्कृति लुट्यो भनेर नाराबाजी गर्नुभन्दा बरु आफ्नो भाषामा बच्चालाई ताराबाजी गर्न सिकाए भलो हुन्छ | घरमा बाउआमाले आफ्नो भाषामा कुरा मात्रै गर्दा पनि छोराछोरीले धेरै सिक्न सक्छन | एकजना पाँचथरका लिम्बु दाइले भाउजुलाई फोन गर्दा लिम्बु भाषामै कुरा गर्थे दुइचार दिन सुनेपछि मैले “नेसुंगो नेसुंगो” “होपी” “मेम्बी” “चुवा” “फेते” जस्ता धेरै शब्दहरु सजिलै सिकेंभने त्यहि घरमा बस्ने कलिलो बच्चाले अझ धेरै सिक्न सक्छ | केहि अघि लिम्बुवानका साथीहरुले मोरङ जिल्लाका कतिपय उच्च मा. बि हरुलाई चिट्ठी पठाए रे लिम्बुहरुको मातृभाषामा पठनपाठन गराईदिनका लागि | माग पुरा नभए नेपाली भाषामा पढाइ हुने बिध्यालयहरु भत्काईदिने धम्कि सहित | माथि उल्लेखित गीतजस्तै कुरा | लिम्बु मित्रहरुले बाहुनहरुको बिद्यालय भत्काए भने झन् नया बनाउछन उनीहरुको हातमा संयन्त्र छ, लिम्बुहरुलाई केहि फाईदा हुँदैन |

एकजना मेरो गाउँका राईदाइ युके आर्मी छन् | पहिलो बिदामा आउँदा पाँच जना चढ्न मिल्ने बाईक किने अगाडी उ आँफै पछाडी तिनचारजना क्षेत्री बाहुन साथिहरु सधैं भट्टी जाने मातेर आउने | उनको बिदा सकिन लाग्दा एकदिन सोधें, “दाइ केटाहरुलाई खुब खुवाउनु भो कति जति सकियो होला?” उनले भने बाइकलाई पेट्रोल र मान्छेलाई झोल गरेर दुइलाख माथि सकियो भाइ दुईमहिनामा | पछी तिनै दाइलाई फर्किने बेलामा खर्चको अभाव भएछ, घरमा माग्न मुख नलागेर घडी बेच्ने भएछन, निकै महँगो थियो रे घडी | उनीसंगै सत्तरी दिन उनकै पैसाले रक्सि खाने क्षेत्री साथीले एक तिहाइ दाम दिएर घडी किनेछ | त्यत्रो दिन उसैको खाएर पनि जानेबेलामा सापटी दिनु त कता कता उसैको घडी किन्ने ? अब आउँदा राईदाइ यो सँग पक्कै बोल्दैनन भनेको त् अर्कोपल्ट झन् धेरै खुवाए | पैसा भएर पनि यस्तो कुरामा बाठो नहुनुले पनि जनजातिमाथि क्षेत्री बाहुन हावी भएका हुन भन्ने मलाइ लाग्छ | ति राईदाइले रक्सीमा खर्च गर्नु सट्टा राई भाषाका किताब किनेर वा स्कुल खोलिदिएर भाषा र संस्कृतिको लागि खर्च गरेका भए सैयौ राईहरुले उनलाई कहिल्यै बिर्सन्नथिए | अन्त्यमा हरेक कुरामा बाउको मुख ताकेर मात्रै पनि हुन्न, अब सुँगुरको खोर भत्काउने धम्कि पनि नदिउँ बरु छेउमा अर्को खोर बनाएर आँफुपनि व्यवहारिक बनौं | आफ्नो लागि जति सकिन्छ आँफै गर्ने प्रयास गरौँ | थालौं आफ्नो भाषा, संस्कृति र पहिचानको जगेर्ना गर्न |

भोलि हैन भरैबाट थालौं,

बाहिर हैन घरैबाट थालौं,

शुरुवात सानैदेखि राम्रो,

टुप्पो हैन जरैबाट थालौं….

धन्यबाद !!

डाक्टर सा’पलाई खुला पत्र |

डाक्टर सा’पलाई खुला पत्र |

नमस्कार डाक्टर सा’प |

अनलाईनमा तपाइको आत्मकथाको एउटा अंश पढ्न पाएँ | अनि तपाइको गिरफ्तारी पछी “हमारी मांगे” शिर्षकमा तपाईका मागहरु पनि पढें | यि सबै कुराहरुको अध्ययनपछी मलाई पनि केहि लेखौं भन्ने औडाहा जाग्यो र यो दुष्प्रयास गरें | डाक्टर सा’प तपाइको जानकारीका लागि लेख्दैछु, तपाइको गिरफ्तारी भएको रंगेली बजारदेखि लगभग २०/२५ कि. मि पुर्व सिजुवा भन्ने गाउँ बिकास समितिमा मेरो घर पर्छ | जिन्दगी मैले त्यहि माटोमा पाएको हुँ र जिन्दगीका अनमोल २२ बर्ष लगातार मैले त्यहिँ भूमिमा बिताएँ अहिलेपनि बिदामा जाँदा बस्ने त्यहि माटोमा हो | म मधेसमा जन्मिएको मान्छे हुँ | मधेसको गन्हाउने पानि पिएर हुर्केको हुँ | तपाइँ जन्मेको र म जन्मेको भूगोलमा खासै फरक नहोला, अक्षांस र देशान्तरको हिसाब लगाउने हो भने शायद हामि एकै रेखामा जन्मेका र हुर्केका होलाउ | यस अर्थले म आँफुलाई मधेसी हुँ भनेर चिनाउन चाहन्छु | फरक यत्ति हो कि तपाइँ तराई मुलको मधेसी र म पहाड मुलको मधेसी |

तपाइले आत्मकथामा उल्लेख गर्नुभएको उत्पीडन, विभेद र सकसलाई शायदै कसैले नकार्न सक्ला | त्यस्ता उत्पीडन र विभेद नगर्ने शायदै कोहि पहाडी होला र नभोग्ने कोहि मधेसी |मधेसी मात्रै के, म त भन्छु हरेक समुदायले त्यस्तो विभेद भोगेका हुन्छन | फरक यत्ति हो त्यसको रुप र सार फरक हुन्छ | के पहाडी पहाडी बीचको विभेद र उत्पीडन कम दर्दनिय छ र? गरिब भएकोले यो मुलुकमा धेरैले सास्ती भोगेका छन् तपाइले जस्तो | मलाइ लाग्छ यसलाई रंगभेदको लेप लगाउनु भनेको साह्रै दुखलाग्दो कुरा हो किनकि यो वर्गभेद हो | गरिब भएकैले पहाडीले पहाडीलाई हेपेका उदाहरण मैले दिईराख्नु नपर्ला | गरिब भएकैले ब्राह्मणले जनजातिलाई, दलितलाई, क्षेत्रीलाई र यहासम्म कि ब्राह्मण लाइ नै पनि विभेद गरेका छैनन् र? एउटा धनीले अर्को गरिबलाई विभेद नगरेको कुन त्यस्तो गाउँ होला र यो मुलुकमा? विभेद गर्ने सामन्त र शोषकले आफूभन्दा गरिब जति सबैलाई दमन गर्छ, यो सामन्ती प्रवृति हो | यो मधेसीले पहाडीलाई पनि गरेको छ | जनजातिले ब्राह्मणलाइ पनि गरेको छ | तपाइले “हमारी मांगे” भनेर जारि गर्नुभएका मागहरु सरसर्ती हेर्दा तपाइले भोग्नुभएका पीडालाई आफैले ओझेलमा पार्नु भएको छ | हामीले आमा मानेको यो पबित्र भूमिलाई तपाइले जुन तुच्छ गालीहरु दिनु भएको छ त्यो ज्यादै खेदजनक छ | तपाइले परिकल्पना गर्नुभएको अलग मधेसी राज्यमा विभेद हुँदैन भनेर कसरि प्रत्याभूति दिलाउन सक्नु हुन्छ? सम्पूर्ण नेपालीहरुलाई अझ म जस्ता मधेसमा बस्ने मधेसीहरुलाई | अहिलेको मधेसी समाजमा आँफु आँफु भित्र विभेद छैन र ? के अहिले एउटा यादब या झा मधेसीले अर्को डोम या मुसहर मधेसीसंगै बसेर भोजन गर्न सक्छ मधेसमा? के मधेसी दलितहरु स्वतन्त्र रुपले सार्वजनिक स्थानमा आवतजावत गर्न सक्ने बातावरण छ मधेसमा? भोलि गएर अलग राज्य नै स्थापना भयो भने पनि मधेसीहरुले मधेसमा बस्ने म जस्तो पहाडी मुलका मधेसीलाई विभेद गर्दैनन् भनेर कसरि आश्वस्त पार्न सक्नु हुन्छ ? यदि यो स्थिति छैन भने अलग राज्यको माग नै औचित्यहीन छ | म आँफुले भोगेको एउटा घटना यहाँ राख्न चाहन्छु | म शायद ४/५  कक्षामा पढ्दाको कुरो हो | मेरो गाउँ सिजुवा ९, त्रिभुवन चौकमा आफ्नो मावलमा बसेर पढ्दै गरेका एकजना शिवाकोटी थरका मेरा दाजुको उमेरका साथि थिए | हाम्रो गाउँमा आधाजसो राइहरुको बसोबास थियो (अझै पनि छ) | हामि सबैजसो त्यहि कक्षाका र उमेरका साथिहरु एकजना चौहान थरका सरसंग उहाकै निवासमा ट्युशन पढ्ने गर्थियौ | अहिले जस्तै दशैंको समय थियो र सबै राइहरुको घरमा सुँगुर पाकेको थियो | राई मित्रहरु सुँगुर खाएर आउथे, एकदिन हामि अलिक चाडै पुग्यौ तर सर आउनु भएको थिएन तल भान्छामा खाना खाँदै हुनुहुन्थ्यो | राई साथीहरुले सधै जसो ति शिवाकोटी साथीलाई छेडखानी शुरु गरे | ति शिवाकोटी मित्र जन्मदै शाकाहारी थिए र कृष्णप्रणामी धर्म मान्ने परिवारमा जन्मिएका थिए अतः उनले घांटीमा तुलसीको माला अर्थात कन्ठी लगाउँथे | साथीहरुले कन्ठी तानेर चुड्न खोजे शिवाकोटी मित्र रुन थाले तर पनि राई मित्रहरुले छोडेनन् | अनि अन्तमा एकजना अलि ठुलो मोटे साथीले मैले भर्खर सुँगुर खाएर आएको भन्दै दाँतले टोकेर उसको तुलसी मालाको तुलसिदाना फुटाइदिए | दुइचार दाना फुटाएपछि सर आउन लागेको थाह पाएर उसलाई सरलाई भनिस भने कुट्छु भनेर धम्क्याए | भोलि पल्ट देखी दशैँ तिहारको बिदा शुरु भयो तर बिदा पछी पनि त्यो साथि ट्युशन आउन छाड्यो | म शारीरिक रुपले सानो भएकोले न मैले त्यस घटनाको बिरोध र न त समर्थनै गर्न सकें | यो एउटा उदाहरण हो बहुसंख्यकले अल्पसंख्यकलाइ गर्ने विभेदको |

डाक्टर सा’प, अर्को एउटा मेरै भोगाई यहाँ राख्न अनुमति चाहन्छु | म ९/१० बर्षको हुँदो हुँ | घर पछाडी सिसौबारिमा खेल्दै गर्दा एक्कासि मेरो गुप्तांग सुन्नियो, दाजुले मलाइ समातेर हतार हतार घर पुर्याउदासम्म पानीले भरिएको प्लाष्टिकको झोलाजस्तो जिलजिल भईसकेको थियो | मम्मीले आत्तिदै बुबालाई बोलाउनु भयो, बुबा खेतमा काम गर्दागर्दै आत्तिएर आउनुभयो | धेरै कुरा त सम्झना छैन तर बुबाले “बुढी बाख्रो बेचेको पैसा निकाल” भनेर ममीलाई अह्राउनु भयो, अघिल्लो दिनमात्रै चारसयमा बाख्रो मियाले लागेको थियो | त्यहि पैसा बोकेर दिउँसो तीनबजे तिर बुबाले मलाइ साइकलको अगाडी डन्डीमा तौलिया ओच्छ्याएर लग्नु भयो | त्यतिबेला त्यो एरियामा कि गौरिगंज (झापा) कि रंगेलीमा जान्ने डाक्टर थिए | म उघ्दै कतिखेर रंगेली पुगें थाहा छैन, के के उपचार भयो केहि याद छैन | तर फर्किदा झपक्कै साँझ पर्न थालेको थियो रंगेली बजार काटेर पुर्व लाग्ने बित्तिकै बुबाले लगाइराखेको ढाकाको टोपी फुकालेर खल्तीमा हाल्नुभयो | खाना खाँदा र सुत्दा बाहेक टोपी नखोल्ने बुबाले टोपी खोलेको देखेर म अचम्मित भएँ | मेरो गुप्तांग पूर्ववत भैसकेको थियो अनि दुखाई पनि कम भईसकेको थियो र मैले उत्सुकताबस् बुबालाई सोधें | बुबाले भन्नुभयो “यता टोपी लगाउँदा यहाका मान्छेले मन पराउदैनन कुटपिट गर्छन” | गाउँमा बलियो र आँटिलो भनेर चिनिने मेरो बुबाको डर पहिलो पल्ट त्यहि बेला देखें | डाक्टर सा’प, तपाइले देशको प्रमुखको हातबाट डिग्री पाउनलाई दौरा सुरुवाल लगाउनु परेछ त्यो पनि राष्ट्रिय कार्यक्रममा | तपाईलाई ग्लानि र शरम धेरै भयो होला म मान्छु तर मेरो बुबा जस्ता धेरैले आफ्नो गाउँ नजिकै यसरि टोपी खोल्नुपर्छ दैनिक दिनचर्यामा, त्यो पनि आफ्नो अबुझ छोराको अगाडी | तपाईलाई भन्दा बढी ग्लानि मेरो बुबालाई भयो होला | डाक्टर सा’प, रंगेली भन्दा पुर्व अर्को बजार आउँछ डायनिया, त्यहाँ मुसलमानहरुको अत्याधिक बसोबास छ | साँझपख एक्लै हिड्नेले आफ्नो टुप्पी जोगाउन उस्तै गाह्रो हुन्छ, ठ्याक्कै त्यस्तै जसरि ति मुसलमानहरु हाम्रो गाउँतिर बुढी बाख्री र बुढी भैसी किन्न आउँदा भोग्छन | छालाको लागि बुढा चौपाया सस्तोमा किन्न आउने ति मुसलमान दाजुभाइहरु अति नै दलाल गर्ने प्रकृतिका हुन्छन | जस्तो १,००० रुपैया पर्ने चौपायालाई २०० देखि दलाल गर्न शुरु गर्छन र आँफुलाई बेच्नु नपर्नेको पनि बित्थैमा यति र उति दिन्छु भनेर लोभ्याउछन | कुनै दिन घरमा अभिभावक नभएको दिन छ भने केटाकेटीलाई पनि फकाएर सस्तोमा लैजान खोज्छन | यस्तो बेला हामीसँग एउटा रेडिमेड उपाय हुने गर्थ्यो बाक्लो किराँतीहरुको बस्ति भएको हाम्रो गाउँमा सुँगुरका छाउरा प्रशस्तै पाईने अनि “त्यो सुँगुर पाठा ल्याएर आउँ” भनेपछि मात्रै तिनीहरु भाग्ने गर्दथे |

डाक्टर सा’प, देश बनाउन खोज्ने हो भने धेरै बाटाहरु छन् र बिगार्न खोज्ने हो भने एउटा मात्रै, देश टुक्र्याउने | तपाइले नासा छाडेर आउनु भएको भन्ने सुनेको छु | यदि हो भने खुसि लाग्यो, तपाइँ देशको गौरव हो | आउनुस मिलेर देश बनाउँ, दाईजोको निहुँमा सालिन्दा सैयौ चेलीले ज्यान गुमाउने गरेका छन् मधेसमा, यस बिरुद्द लागौं | मधेसकै विभेद अन्त्य गरौँ, आउनुस मिलेर जनचेतना जगाउँ कि सानो र ठुलो जात हुँदैन भनेर | खुला दिसाको कारण कति मधेसी बालबालिका बिमार परेका छन्, आउनुस चर्पीमा मात्रै दिसापिसाब गरौँ भनेर सम्झाउ | पिउने पानीको समस्या छ मधेसमा, ट्युवेलमा आर्सनिकयुक्त पानी आउँछ आउनुस पानीलाई सुद्दिकरण गरेर मात्रै पिउन सिकाउँ | मैथिली, भोजपुरी र अवध अनि अरु मधेसमा बोलिने भाषामा बिद्यालय खोल्न सरकारलाई दबाव दिउँ, आउनुस सबै अभिभावकलाई छोरा र छोरी समान हुन भनेर महिला अधिकारको प्रत्याभूति दिलाउँ | राष्ट्रिय स्तरमा मधेसी महिलाको उपस्थिति ज्यादै न्युन छ, आउनुस महिला सशक्तिकरण अभियानमा संगसंगै लागौं | अनि माग्नुपरे माग्नुहोस अलग राज्य म पनि तपाइलाई साथ दिनेछु | तपाइको पछी लाखौंको समर्थन हुनेछ र बाध्य हुनेछ सरकार | नेपाल आमासँग घर सल्लाह गरेरै छुट्टीउला न कि गालि र सराप गरेर | हामि राम्रो र गतिलो भएर मागौं न कि अरुलाई नराम्रो देखाएर | अनि मात्रै तपाइको मधेसप्रतिको सद्भाव देशले बुझ्नेछ | जान्नेछ, तपाइको मधेसप्रेम नत्र यथास्थितिमा मधेसको माग गर्नु भनेको झन् खाडलमा फस्नु हो | नत्र सिधाबाटो आउनुस जनमत जित्नुस र देशको कार्यकारी हुनुस अनि झापड दिनुस तपाईलाई “धोति” भन्नेहरुलाई | यौटा जनकपुरको भैसी गोठालोको छोरो सुई हान्ने डाक्टर देशको राष्ट्रपति भएको देशमा कोशी किनारमा हुर्केको नासाको बैज्ञानिक प्रधानमन्त्री बन्न नसक्ने केहि कारण छैनन् |

तपाइले क्याम्पसमा पाउनु भएको सास्तीको बारेमा उल्लेख गर्नु भएको रहेछ, पढेर मेरो पनि हृदय भतभती पोल्यो | डेरा नपाएर भौतारिनु भएको घटनाले पनि छोयो | राजधानीले मधेसीलाई मात्रै होईन डाक्टर सा’प, पहाडीलाई पनि उत्तिकै विभेद गर्छ | चप्पल लगाएर कठ्याङ्ग्रिने जाडोमा क्याम्पस जानुपर्दाको पिडा पनि उत्तिकै दुखद छ | मैले त राजधानीका कुनै क्याम्पसमा पढ्ने सौभाग्य पाईन तर बिराटनगरको महेन्द्र मोरङ क्याम्पस गएको छु, नियमित बिद्यार्थी नभए पनि | त्यहाका बिद्यार्थीसँग संगत गरेको छु | क्याम्पसमा नयाँ बिध्यार्थिलाई ज्यादती गरिनु नौलो कुरा होईन जस्तो लाग्छ र यो पनि हो कि तपाइँ मधेसी भएकोले अलिक बढी भोग्नु भयो होला | उहिले म नजन्मिदै झापा आन्दोलनमा लागेका कम्युनिष्टहरु रातारात गाउँबाट लखेटिए रे | झापा छोडेर भूमिगत भएका असंख्य झापालीहरू राजधानीमा पुगे र डेरा बस्न थाले | त्यसै क्रममा कति भूमिगत बसेकाहरुसंग भाडा तिर्ने पैसा नभएर डेरा छोडेर भाग्दै अर्को ठाउँमा बस्न गए त कति अनेक बहानाबाजी गरेर अटेरी गर्दै त्यहि बसिराखे | अनि कतिलाई सुराकीको आधारमा डेराबाटै गिरफ्तार गरियो | तर पछी जब पन्चे सरकारलाई यो कुरा थाह भयो उसले उर्दी जारि गर्यो कोहिले आफ्नो घरमा झापालीलाई बहालमा या अन्य कुनै तरिकाले राखेको पाइएमा कडाभन्दा कडा कारवाही गरिनेछ | त्यसपछि झापाली भन्नासाथ कसैले डेरा नदिने गर्न थाले त्यति मात्रै होइन् झापाली भाडा नतिर्ने फटाहा र चोर हुन्छन, प्रहरीले घरबाटै पक्राउ गर्छन भन्ने बुझाइ रह्यो जुन आजसम्म पनि कायम छ यद्यपी अहिले राजधानीमा बाहिरका मध्ये सबैभन्दा बढी घर झापालिहरुकै छन् |

आँफु मधेसी भएकोले हीनताबोध गर्नुभएका जस्ता लाग्ने धेरै कुराहरु लेख्नु भएको छ तपाइले उक्त आत्मकथामा | तर मधेसी राष्ट्रपति, उप राष्ट्रपति र उप सभामुख भएको देशको सामान्य नागरिक भएकोले मलाइ त मधेसी प्रति अगाध श्रध्दा छ | तर तपाइले त्यो घमण्ड कतै उल्लेखित गर्नु भएनछ दुख लाग्यो | देशको राष्ट्रपतिले त्यहि मधेसबाट आएर संघर्ष गरेर आज यो पद जित्नु भएको हो कसैले दानमा या उपहारमा दिएको हैन | त्यहि मधेसबाट आएर दुख र संघर्ष गरेर आँफुलाई राष्ट्रको इज्जतिलो स्थानमा पुर्याउने अरुपनि धेरै व्यक्तित्वहरु हुनुहुन्छ, उहाहरुलाई हेरेर पनि अलिकति सिक्नुपर्ने हो तपाइले | अब हिजोको जस्तो जमाना रहेन | बरु छिटोभन्दा छिटो देशलाई संघियतामा लैजान दबाव दिउँ | अनि मधेसमै अन्तर्राष्ट्रिय विमानस्थल चाडै सुचारु गरौँ | आउनुस प्राबिधिक बिश्वबिद्यालयहरु मधेसमै स्थापना गर्न जोडदार माग गरौ | सरकारी स्तरबाट नभए सामुदायिक तवरबाट अघि बढौं | हामीसँग अबको भोलिमा केन्द्रिकृत राज्यसत्ता कायम रहनेछैन | अन्तर्राष्ट्रिय विमानस्थल र बिश्वबिधालयहरु मधेसमै भएपछी हामीलाई राजधानी जानुपर्ने खास कामै पर्दैन | देशका अत्याधिक उद्योग धन्दाहरु मधेसमै छन् हामिलाई रोजगारी मधेसमै मिल्छ | उच्च शिक्षा पनि मधेसमै मिल्न थालेपछि हामिलाई गरिने विभेदको पनि स्वाभाविक अन्त्य हुनेछ | देश र मधेसले मुक्ति पाउन लागेको यो स्वर्णिम घडीमा तपाइको त्यस्तो अभिव्यक्ति आउनु अतिनै लज्जास्पद र निराशाजनक कुरा हो | त्यसैले आउनुस डाक्टर सा’प फुटेर हैन जोडेर देश बनाउँ | यो समयको माग यहि हो | हामिलाई तपाइँजस्तो होनहार युवाको खाँचो छ | मिलेर अघि बढौं | दुनियालाई त्यो उखान भन्ने मौका नदिउँ जुन पहाडी समाजमा चर्चित छ | “काट्ने बेलामा सुँगुरले गुहु खायो….. |” जय रामजी कि !!

तपाइको शुभ चिन्तक

-सागर बस्नेत

सिजुवा ९, मोरङ

हाल खाडी मुलुक