लोहोन्द्रा र म

आज उसको जन्मदिन, मैले चाहेर पनि बिर्सन नसक्ने दिन। जसरी सम्झिने खास कारण छैन, त्यसैगरी बिर्सनुपर्ने जरुरत पनि। बेवास्ता गर्न नखोजेको होइन तर निरर्थक। एकाएक मन फेरियो। अघिसम्म अर्थहीन र बेतुक लागेका कुराहरु त्यसैत्यसै अत्यन्त सुन्दर र अत्यावश्यक लाग्न थाले। एकैछिनमा कसरी यस्तो हुन्छ? सादा कागजको पानामा रङ पोखिएर रङ्गिन भएजस्तो लाग्यो। अनि त के थियो? सरप्राइज दिनलाई उसको घरछेउ पुगें| मोबाइल हातैमा थियो, नम्बर मुखैमा…..।

समयलाइ बलवान भन्नुको आशय म जान्दिनँ तर यो जरुर छ। मेरो त्यत्रो उत्साह र जोश पहिलो धुलाइमा खुइलिएको कपडा झैं भयो, फुस्रो र बेरङ्गी। समयले मलाइ एउटा नाङ्गो बगरमा पछारेर आफ्नो शक्ति देखाएर गयो।

झर्केर उ भन्दै थिई “के गर्नु त मेरो जन्मदिन भए, नाचौं? म के भन्न सक्थें र? भन्ने केही थिएन तैपनी मैले यो विशेष दिनमा सम्झिनको लागि मात्रै सम्झिएको हो भनेर प्रमाणित गर्न खोजें। घोडालाइ जबर्जस्ति तानेर खोलासम्म लैजान सकिन्छ रे तर उसलाइ इच्छा नभए जति बल गरेपनि पानी खुवाउन सकिन्न रे। उसलाइ तिर्खा नभएपछी मैले जुनसुकै स्वादको पानी देखाएपनि मेरो दाल गल्नेवाला थिएन।

मलाइ स्मृतिले दुइजोडी बर्ष पछि हुत्यायो। उसको जन्मदिन इटहरिमा मनाएर हामिदुइ फिर्दैगर्दा उसको घर आउनु अलिक अगाडि लोहोन्द्राको पुलमा अडियौं। खोला हेर्दै झूरलाग्दो देखिन्थ्यो| लाग्थ्यो यो जत्तिको निरस र उजाड ठाउँ दुनियामा शायदै होला| पुलको रेलिङ समातेर आधा जिउ खोलातिर झुकाउदै घृणित नजरले खोलालाई हेरें| लापरवाही पाराले भएभरको थुक पिच्च खोलामा थुक्दै भनें “ओइ नक्कली याँदेखी सिधै फाल हान्दिउँ?” तपाइँ बाच्नुहुन्न याँदेखी झर्दा त” उसले कुरा अघि बढाइ। “बाच्नलाइ को फाल हान्छ र?” मेरो रेडिमेड जवाफ| अनि तपाईं नभए म चैं किन बाँच्नु त? म पनि फाल हान्छु” दिल्लगी गरि उसले। “किन मबिना बाँच्दिनस र? भोलि हामी एक हुन सकेनौं भने?” दिल्लगिलाइ दिल्लगी नै फिराएँ। उसका खिरिला औंलाले मेरो मुख थुन्दै फुस्फुसाइ “चुप,म त्यो क्षणको कल्पना नै गर्न सक्दिनँ। हो म त मरिदिन्छु”। “तँलाइ मर्न आउँछ, जान्दछेस के? कसरी मर्छेस भन त?”। म जारी छु अझै। “बिलेडले हात काट्छु, पासो लाग्छु, पोइजन खान्छु नभए खोलामा डुब्छु।” उसले आफ्नो अथाह ज्ञानको पोको खोली। “काँ यै लोहोन्द्रामा? हिउँदमा त नआइज है, भ्यागुतोको त घाँटीघाँटी मात्रै आउँछ पानी। डुब्दिनस नि।” म गल्नेवाला थिईनँ, हाँसोलाई सकेसम्म रोकेर भनें। उसले मेरो कुरामा ध्यानै नदिइ पोकिदै भनी “याँ नभए सप्तकोशीमा जान्छु नि।” हार्न हामी दुवैलाइ हाम्रै ग्रहले नदिने।

पछिका दुईजोडी सालमा लोहोन्द्रामा धेरै पानी बग्यो, सप्तकोशिले त नबगाउने कुराहरु पनि बगाएर लग्यो। तरपनी यो लोहोन्द्रामा पानीले माया मारेर एक्लिएको पहेलो बालुवा उस्तै थियो। पहिले हामी जहाँ उभिएका थियौं म त्यही ठाउँमा उभिएको छु। हिजो मसँग उ थिई, सपना, आशा र सम्भावना थिए तर आज रित्तै र एक्लै भएँ। अकास्मात मलाइ रेलिङमा समातेर आधा जिउ खोलातिर झुकाएर सुकेको खोलोसँग आफुलाइ दाँज्ने बिचार आयो। फरक्क पछाडी फर्किएँ, तर त्यहा त रेलिङ नै भत्किएको थियो। मैले झट्ट सोचें बिना योजना कति मन यो रेलिङ भत्काएर तल बालुवामा टाउको जोत्न पुगे होलान? धेरैले भुले होलान तर पुलले अझै त्यो दुर्घटना बिर्सन सकेको थिएन। उ चोट बोकेर बसेको थियो। समयले नराम्रो कुरा कहिल्यै बिर्साउन सकेनछ। बालुवातिर एकटकले हेरें, खोलाले गिज्याए झै लाग्यो। अब खोलाले मलाइ विस्मृत नजरले हेर्यो, घृणा फ्याक्यो| अनि भर्खरै उसले मेरो कान थर्किनेगरि भनेको सम्झिएँ। “अब मलाइ फोन नगर्नु, मेरो मान्छे पढाई सकेर आएकोछ मलाइ बिहे गर्न।” मैले यस्तो अप्रत्यासित क्षणको कल्पना गरेको थिइनँ र अनायासै भनेछु। “अनि म पनि त आएँ नि मृत्युको मुखबाट बाँचेर…, तैंले यसो भनिस भने त म ठाडै सुकेर मर्छु”। नजानिँदो पाराले म निरिह भएछु| उस्लाइ अझै च्याट्ठिन पुगेको थिएन, झन बल गरेर भनी। ” मरे मैले के गर्नु त? दुनियाको ठेक्का मलाइ पर्या हो र?

लोहोन्द्राको यो पुल अझै धेरैजसो उस्तै छ। पुलको वल्लो छेउमा आएपछी पछाडी फर्किएर हेरें। उ र म उस्तै देखियौं दुवैको रेलिङ भत्किएको। यात्रुले बिर्सिएर एक्लिएको। यो बिचमा यसले धेरै यात्रु ओसारेछ मेरी उसले जस्तै| यो चारबर्षमा लोहोन्द्राले कसैलाई घरबार विहिन बिरामी बनाएर कतै लगेछ त कसैलाई डाक्टर बनाएर ल्याएछ|

मेरा आठदिन

मेरा आठदिन 

 

२०५७ बैसाख १०, शनिबार

आज जीवनकै नौलो काम गरियो | सम्झेर भित्रभित्रै काउकुती पनि उत्ति लागेको छ अनि डर पनि | बिशाल मेरो सबैभन्दा मिल्ने साथि हो | हरेक कुरामा उसका र मेरा बिचार मिल्छन, नमिलेका प्रसंग र बिषयमा मतभेद राखेरै पनि निचोडमा पुग्छौं हामि | उसको धेरै लामो जिद्दी र दबावले आज सफलता पायो | हाम्रो सेन्टअपको परिक्षा सकिएदेखी नै हामि उसकै खलोमा पराले गुन्द्री माथि बसेर धेरै गफहरु गर्थ्यौं | तिमध्ये धेरैजसो केटीकै कुरा हुन्थे, उसका पनि दिदीबहिनी नभएका अनि मेरापनि | हामिलाई एकअर्कोकोमा जानलाई धेरै सजिलो पनि भएको थियो | दश पन्ध्र दिनदेखि लगातार उसले मलाइ तीनजना हाम्रो इलाकाका राम्री केटीहरु छानेर जसलाई चिठी लेखेपनि पुर्याइदिने प्रस्ताव राखेको थियो | एउटी थिइ चोककी सानु, राम्री त थिइ तर केटाहरु सँग खुलेर बोलेको देख्दा मलाइ कत्ति चित्त बुझ्दैन थियो | अर्की थिइ सपनाकी बहिनी, उसका धेरै दिदीहरु जस्तै रुपमा गाउँकै एक नम्बर थिई | यसले त मलाइ पत्याउली जस्तो पनि लाग्दैन थियो | अन्तिम बिकल्पमा थिई प्रतिमा | कालीकाली, लुती तर राम्री थिइ ऊ | खै के भएको हो मलाइ, जुन केटि देख्यो त्यहि राम्री लाग्थे | त्यसै त्यसै मोहित हुन्थें म, पढ्दा होस् कि काम गर्दा, सुत्दा होस् कि साइकल चलाउँदा, म कोहि न कोहि केटिसँग घुमेको, भेटेको र बोलेको मात्रै कल्पना गर्थें | सिनेमामा जस्तै दृश्यहरु फेरिन्थे, एकैछिनमा हाम्रो बडो धुमधामले बिहे हुन्थ्यो | म धेरै कमाउने मान्छे हुन्थें अनि हाम्रा साना-साना छोराछोरी आँगनमा खेलिराखेका हुन्थे | तर सिनेमामा जस्तो दुख, कष्ट कहिल्यै भोग्नु पर्दैन थियो | उसलाई आँखा लाउने, मलाइ कुट्ने र छोराछोरी अपहरण गर्ने गुण्डाहरु हुदैनथिए |

 

मैले मनमनै प्रतिमालाई नै चिठ्ठी लेख्ने सोचिसकेको थिएँ | ऊ कहिलेकाही बाटामा भेटिदा लाजले भुतुक्क हुन्थी, मपनि बोल्नै सक्दिनथे | छाती बुरुक बुरुक उफ्रिन्थ्यो, हातगोडा लुला हुन्थे | मसंगै पढ्ने एउटी केटि थिई अर्को गाउँकी, सानी सानी कति राम्री गुडियाजस्तै लाग्थी | सानैदेखि म उसलाई धेरै मन पराउथे, थाइकट कपालमा आउने ऊ पढाइमा पनि उत्तिकै तेज थिइ | उसको निलो फ्रकको गोजीमा लिची ल्याएर साथीहरुलाई दिन्थी | जब मेरो छेउमा आउथि, म लाजले फरार हुन्थें | खोई किन चाहेर पनि ऊ सँग कहिल्यै बोल्न सकिनँ |

 

लिची ल्याइदिने केटीलाई मुटुमाथि ढुङ्गा राखेरै बिर्सिदिने सोच बनाएर मैले प्रतिमालाई चिठ्ठी लेखिसकेको थिएँ | हाम्रो एसएलसी हिजोमात्रै सकिएको हो | हुन चै २०५६को ब्याच भएपनि खै के कारणले परिक्षा चैतमा नभएर बैसाखमा भयो | ०५६को ब्याचले ०५७मा जाँच दियो | त्यो चिठ्ठी आज मैले बिशाललाई सुम्पेर आएको हुँ | उसले भोलि बिहानै चिठ्ठी प्रतिमालाई दिने बाचा गरेको छ |

 

२०५७ बैसाख ११, आईतबार

 

आज उठ्न एकदमै ढिला भयो, हिजो रातभरी घरि प्रतिमासँग रमाईला पलहरुको कल्पना गर्दै त घरि उसले इन्कार गर्ने हो कि भन्ने पिरले थिचिदै हिजो अबेर मात्रै निदाएछु | सेन्टअपको परिक्षा शुरु हुनुभन्दा अगाडी देखिनै मलाइ घरको काम गर्न लगाईएको थिएन, आफ्नो काम बाहेक | नत्र सामान्यता हामि सानै हुँदादेखि नै बुबाले काम गर्न लगाउनु भएको हो | गर्ने कहिल्यै भोको र नाङ्गो हुँदैन भन्दै घरका कामहरु गर्न सिकाएको थियो | गाइभैसिलाई घाँसपानि गर्ने देखि लिएर खाना बनाउने, भाँडा माझ्ने, सरसफाई गर्ने, लिपपोत गर्ने काम हामि तिनै जना दाजुभाई उत्तिकै गर्थ्यौं | हाम्रो घरमा एउटा अर्को चलन थियो यदि कोहि खानाको समयमा आएन भने उसले भाँडा माझ्नुपर्ने | म र भाइ धेरै पटक कारवाहीमा पर्थ्यौ, भाइ चलाख थियो | खाइ सकिन भनेर आधापेट खाएरै पनि खानालाई भाँडामै छाडीदिन्थ्यो | त्यसो गर्दा भाँडा माझ्नु पर्दैन थियो | दिदीबहिनी नभएकोले छोरीले गर्ने सबै काम गर्नुपर्थ्यो |

 

अबेला उठेर नित्यकर्म सकेपछी एकाएक मनमा डर पैदा भयो | प्रतिमाले चिठ्ठी बुबालाई या उसको दाजुलाई दिई भने के गर्ने? यस्तो घटना नघटेको पनि होईन केटीहरुले आँफुलाई मन नपरेको केटाले चिट्ठी पठाएमा वा केटि डराउने खाले परेमा यस्तो गर्ने गरेको धेरै सुन्नमा आएको छ | के गरौँ र कसो गरौँ भयो | उसको र मेरो घरको दुरी त्यति धेरै पनि थिएन | मनलाई डरले जित्दै गएपछि बेकारमा चिट्ठी पठाएछु जस्तो लाग्यो | उसले चिट्ठी बुबालाई दिई भने उसको बुबा मेरो घरमा आउनुहुन्छ र मेरो बुबालाई चिट्ठी दिनुहुन्छ भन्ने डर लाग्यो | मलाइ यो सबसँग सामना गर्ने हिम्मत आएन | विशालको घर पुगेर चिट्ठी फिर्ता माग्ने बुद्धि आयो | बाटैबाटो जाउँ भने प्रतिमाको घर काटेर जानुपर्ने, अनि लागेँ खेतैखेत | तर बिशाललाई घरमा भेटिन, विशालको ममीले भन्नुभयो चिउरा लिएर मिल गएको छ बिहानै | अलि मन शान्त भयो | बिहानै भनेपछि पक्कै दिएको छैन होला भन्ने लाग्यो | सरासर उसको कोठामा पसें उसको राखनधरण मलाई सप्पै थाह थियो | उसका गोप्य कुरा राख्ने सबै ठाउमा छापा मारें तर अहँ भेट्न सकिनँ | अब त हिजै दिएछ भन्ने निर्णयमा पुगें किनकि विशाललाई प्रतिमाको घर र कोठामा जानलाई केहि बन्देज थिएन ऊ त प्रतिमाको दाइजस्तो थियो | झन् मेरा हातखुट्टा चिसिए, अनुहारमा चिटचिट पसिना आए | मलाइ उभिन पनि गाह्रो भयो, अनि केहि नसोची म काकाको घरतिर हान्निएँ | त्यहाबाट काकाको घर जानलाई खेतैखेत गए हुन्थ्यो | म भाइ, बहिनी र काकीसँग गफ गरेर दिनभरी त्यहिँ बसें, खाना पनि त्यतै खाएँ तर म भित्र बसिन | खाना खाँदा होस् कि गफ गर्दा म बाहिरै बसें अनि बाटोबाट नजर एकपल पनि हटाईन | मलाइ घरबाट खोज्दै कोहि आइहाल्छ कि भन्ने डर लागिरह्यो | ठुलो साँझ परेपछि मात्रै खेतैखेत लुसुलुसु घर गएँ |

 

म घर पछाडिको परालको माच कट्ने बित्तिकै भाइले ऊ सान्दाजु आयो भन्दै ठुलो स्वरमा भन्यो | बेलुकाको धन्दा सकेर बसेका ममिबुबा र दाजु अनि अर्को आकृति पनि उठेर मलाइ हेर्न आँगनमा निस्किए | अलिक परको मान्छे नचिनिने भइ सकेको थियो, त्यो छाँया कसको होला भनेर खुब डर लाग्यो | म डराई डराई नजिकै पुगें तर त्यो त पल्लाघरका काका रहेछन | बुबाले दिनभरी कहाँ गईस? तँलाई लिन मान्छे आएका थिए भन्नुभयो | मेरो कानमा शंख बजे, थचक्क बस्नुजस्तो भयो | मलाइ बुबादेखी धेरै नै डर लाग्थ्यो | ममीको आड लाग्थ्यो, छेउमा गएर सोधें को आएको थियो ममी? तर मलाइ जवाफ सुन्ने हिम्मत भने थिएन | ममीले बिस्तारै भन्नुभयो मामा बजारबाट फर्किदा पस्नुभएको थियो, भान्जाको परिक्षा सकियो बस्दै आऊन भन्दै हुनुहुन्थ्यो | मलाइ चौपट खुसि भयो | ममीले अगाडी भन्नुभयो, निकैबेर पर्खेर जानुभयो तर के गर्नु तँ पाहुना लाग्न जानु र ढुङ्गो टुसाउनु उस्तै हो | हो, मलाइ पाहुना जान पटक्कै मन लाग्दैन एक त मेरो मागेर खाने बानि छैन, अर्को मलाइ अरुसंग बोल्न मरेजस्तै लाग्छ | झन् त्यहाँमाथि मावल, भो ! त्यहाँ दिदीबहिनी मात्रै छन् | हुनत दुवै मामाको एकएकजना छोराहरु छन् तर तिनीहरु परदेशमा छन् | घरमा दिदी बहिनी नभएर होला मलाइ केटि मान्छे सँग बोल्न र हाँस्न आउदैन | पाहुना गएँ भने त मलाइ दिसापिसाब नै लाग्दैन रातभरी निन्द्रा पनि पर्दैन | तर यसपाली नगई सुख छैन, भोलि बिहानै मावल जाने सोच बनाइ खाना खाएर सुत्न आएँ |

 

२०५७ बैसाख १२, सोमबार

 

आज मलाइ देखेर घरका मान्छेहरुको आँखा च्यातिए | बिहान अरुले नबोलाई नउठ्ने मेरो बानि नै हो | सानैदेखि बुबाले कराई कराई बिहानै उठ्न लगाउनु हुन्थ्यो, हामि धेरै साथिहरु हरेक बिहान चार बजेतिरै उठेर स्कुलको चौरसम्म दगुर्दै जान्थ्यौ | शुरुमा बुबाले दाजु र मलाइ ब्युझाई दिनुहुन्थ्यो अनि हामि साथिहरुको घर घर पुगेर उठाउथ्यौ र चौरमा एक डेढ घण्टा गोल खेल्थ्यौ | चौरको कुनामा म किप्पर बस्नुपर्थ्यो, कारण म दगुर्न सक्दिनथे अल्छे भएर | मच्छेडले टोकेर हैरान बनाउथ्यो | तर जाडो महिनामा मात्रै हामि यसरि ब्यायाम गर्ने गर्थ्यौ | आज कसैले नबोलाई ममीसँगै उठें र नुहाएँ | राम्रो उज्यालो भएकै थिएन, गाईबस्तु सार्ने, खोलेपानी खुवाउने र पराल हाल्ने काम सघाएपछी मात्रै बुबा र दाजुभाई उठे | मलाइ देखेर सबै छक्क परे, तर म छक्क नपरी चिया पिएर घरमाथि चढें | मेरो कोठा घरको माथ्लो तलामा थियो कपडा लगाएर ठीकठाक परेर तल झर्नलाई घोप्टे(भर्यांगमा लगाउने ढोका) नजिक पुगेको थिएँ प्रतिमाको बुबा बाटोदेखि हाम्रो आँगनमा पस्दै गरेको देखें | मेरो सातो गयो, हतारहतार भित्र पसें र मुलढोका पछाडी लुकें र चाल सुनेर बसिरहें | सानो स्वरमा केहि गफ गरेजस्तो सुनियो तर कुरा बुझिएन | एकमनले सोच्यो, कि मेरो चिट्ठीको कुरा थाह पाएर बिहेको कुरा गर्न आएका हुन्? धत् के को बिहे अहिल्यै? म सोह्रबर्ष नै पुगेको छुईन झन् प्रतिमा त पन्ध्र पनि पुगेकै छैन होला अर्को मनले बिरोध गर्यो | डरले मेरो खुट्टा काँपिरहेको थियो, मलाइ धेरै नै अपराधबोध भईराखेको थियो | तर प्रतिमाका बाको साइकलमाथि बसेर बाटोतिर हुत्तिदै गरेको ढाड देखेर राहत मिल्यो |

 

मामाघर, केटाकेटीको लागि एकदम सुखद र रमाईलो ठाउँ | पाहुना बनेर म बिहानै आईपुगें | मलाइ सबैले बोलाउँदा खुसि लाग्छ तर बोल्न लाज लाग्छ | सानैदेखि मलाइ साहित्यप्रति खुब चाख थियो र मेरो स्मरणशक्ति पनि तगडा थियो | मावल आएपछि दिदीहरुले संधैं मलाइ फलानो कविता कसले लेखेको भनेर नेपाली बिषयमा भएका कविताका बारेमा सोध्नुहुन्थ्यो | म छ कक्षामा पढ्दा नै दिदिहरुका दश कक्षाका नेपाली किताब पढिसकेको हुन्थें | यहि गुण र तीक्ष्ण दिमाखको कारणले म सबैको प्यारो थिएँ मावलमा | सामान्य गफगाफ र हाँसो ठट्टामै आजको दिन बित्यो |

 

२०५७ बैसाख १३, मंगलबार

 

पाहुना लाग्न आउनुको एउटा आनन्द लाग्छ, ढिलो सम्म सुत्न पाईन्छ | मलाइ सुत्न र पढ्न पाए अरु केहि माग्दिनथिए होला जस्तो लाग्छ | छ/ सात कक्षा देखि नै म पाठ्यक्रम बाहिरका किताब पढ्न बानि परिसकेको थिएँ | यो क्रम नौ कक्षामा पुगेपछि ह्वात्तै बढेको हो | नौ र दश कक्षाको पढाई बिहान हुनेगर्थ्यो, एघार र बाह्रको संगै | बिहान पुस्तकालय खुल्थ्यो, कार्ड बनाएर पुस्तक माग्न गए निश्चिन अवधिका लागि पढ्न पाईने | यस्तो राम्रो अवसर मैले खेर फाल्ने कुरै आएन | म धेरैभन्दा धेरै पुस्तकहरु पढ्ने गर्दथें, कति बुझ्थे कति बुझ्दिनथिएँ | यो भन्दा अगाडी नै मलाइ प्रकाश कोविदका उपन्यासहरूले मोहित पारिसकेका थिएँ | दार्जिलिंग र वरपरका ईलाकाको बारेमा गरिएको बिस्तृत र सुन्दर बर्णनले म त्यो ठाउँ पुगेरै छाड्ने सोच गरिसकेको थिएँ | प्रेम अनि प्रेमको बाधक गरिबी र यस्तै सिमान्तकृत वर्गका कथा भएकोले आफ्नै कथाजस्तो लाग्थ्यो | मैले धेरै उपन्यास पढें, राइका मलाई नरुवाउने कुनै उपन्यास भएनन |

 

मोति दिएर आँसु बटुलें

हार भएन जीत

हाँगाबाट खसेको फूलले

भुल्न सकेन प्रित

राइको हरेक कृतिमा हुने यि हरफले मलाई त्यतिबेला देखि नै शायरी कोर्न सिकायो | यि हरफबाट प्रभावित भएर मैले धेरै शायरी लेखेँ | साहित्यिक र प्रेमिल शब्दहरुसंगको चिनजान मलाइ कोविदले नै गराएका हुन | उनका उपन्यासमा के के हुन्थे त्यति बुझिन तर मलाई प्रेमप्रति एउटा छुट्टै सोचको बिकास गर्न प्रेरित गरेको थियो | प्रेमको शरीरसँग केहि सम्बन्ध हुँदैन, प्रेम त आत्मालाई गरिन्छ भनेर सिकेको थिएँ | जहाँ वासनाको लेसमात्र पनि हुन्छ त्यहा प्रेमको कल्पनासम्म पनि गर्न सकिन्न भन्ने उनैका कृतिले सिकाएर गए | ति उपन्यासको प्रभावले म राम्रै प्रेमपत्र लेख्न सक्ने भएको थिएँ, साथिवृतमा कसैलाई प्रेमपत्र लेख्नु पर्यो भने खेस्रा मैसँग लेखाउथे | मैले लेखिदिएको पत्रले धेरै केटीहरुको मन जित्न सकेको थियो | मेरो एकजना साथीले एकपटक भनेको थियो | तैंले लेखेको चिठ्ठी दिनु भने त करिश्मा, बिपना, जल शाह सबै पट्टिन्छन | शायद यहि कुराले पनि मेरो हौसला बढेको थियो |

 

बिहानको खानापछि मामाकी छोरी हसन्दह जाने कुरा सुनें | एक्लै जान अफ्ट्यारो भएर साथीको खोजि गरिराख्नु भएको थियो | हसन्दह मतलब ठुलोममिको घर | म त्यहाँ धेरैदिन टिक्ने कुरा थिएन र घर फर्केर जान हिम्मत पनि थिएन अनि दिदीलाई म पनि जान्छु भनें | दिदी के खोज्छस कानो आँखो भनेजस्तै हर्षित हुनुभयो | साँझमा ठुलोममिको घरमा आइपुगियो | यहाको माहोल अर्कै थियो, ठुलोबुबा पनि खुब कुरा गर्ने, ठुमोममिले त मलाइ मेरै ममीले जस्तो माया गर्ने | दुईजना दाजुहरु उस्तै बोलाइया झन् दिदी त आफ्नो भाइ नभएर हामीलाई खुब माया गर्ने | जे होस् केहिदिन ढुक्क हुनेभयो, मनलाई शान्ति मिल्यो |

 

 

२०५७ बैसाख १४, बुधबार

 

आज धेरै मन रमायो, बिहानै खाजासाजा खाएर सान्दाजुसंग उहाहरुको काकाको घर गएँ | दाजुले अमरदह बजार घुमाइदिनु भयो | फिल्म हल अघि पुगेर फिल्म हेर्ने भाइ भन्नुभयो ? शायद कुनै हिन्दि फिल्मको पोष्टर थियो अजय देवगनको | भोलि आउनुपर्छ है भन्नुभयो, मैले नाइँ पनि भनिन र ल पनि भन्न सकिनँ | फर्केर घर आएपछि खाना खाएर ठुलोममीसँग कुरा गरें, बुबाका, ममिका, दाजुभाइका र छिमेकीका खबर सोध्नु भयो | मलाइ ठुलोममीसँग कुरा गर्न डर लाग्छ सधैं | जहिले भेटेपनि सोध्नुहुन्छ बाबु तँलाई ममीको धेरै माया लाग्छ कि मेरो ? सानै देखि यहि सोधेर हायलकायल पार्नुहुन्छ | तपाइको भनौं भने पत्याउनु हुन्न होला भन्ने डर लाग्छ | नपत्याउनेगरि किन ढाटुं? ममीको भनौं भने चित्त दुखाउनु हुन्छ होला भन्ने लाग्छ | आज पनि सोध्नुभयो मैले पनि पुरानै जवाफ दिएँ, दुबैको | केटाकेटीमा जस्तै फेरी भन्नुभयो कसरि दुबैको उस्तै हुन्छ? एउटाको अलिकति भएपनि कमबेश हुन्छ नि, नढाटि भन न नानि | मैले पनि बच्चाजस्तै गरेर त्यतिबेलै देखिको जवाफ दिएँ जसरि दाहिने र देब्रे हातको उस्तै माया लाग्छ त्यसरी नै | ममीलाई के ख्वाएर पाल्छस नानि? फेरी पुरानो प्रश्न सोध्नुभयो, म हाँसिरहे | म सानो हुँदा एकदिन ममीले ठुलोममी, ममी र हामि तिनैजाना छोरा भएको बेला भन्नुभएको थियो | म बुढी भएपछी मलाइ कसले पाल्छ होला? मैले हतार हतार भनें रे म पाल्तु | नानीले मलाइ के ख्वाएर पाल्छ? हतपत्त भनेको थिएँ रे अम्बक | अम्बक कहाबाट ल्याउँछ ? तुतिलाहेलुको बात | हाम्रो पहिलाको घर नजिकै रिजालको घर थियो, तिनलाइ हामि भिनाजु भन्थ्यौं | तिनकी छोरी मभन्दा जेठी भएपनि साथि थिईन | तिनको नाम थियो शुसिला, खेल्दै जाँदा तिनीहरुको आँप, अम्बक, कटहर र अरु फलफुल पनि खान्थ्यौं | शायद त्यहि बेलाको कुरो होला यो |

 

 

दिदीहरु(ठुलोममिकी छोरी र मामा कि छोरी) सँग परपर खेतसम्म गईयो | एउटी दिदीले एउटा र मैले एउटा पाठो पनि बोकेर बाख्रालाई पानि खुवाउन बाल्टीमा चामल पखालेको चौलानी र नुन मिसाएको पानि बोकेर | घरदेखि पूर्वपट्टी ठुलो फाँट थियो, त्यहाँ धेरै बाख्राहरु र बस्तुहरु लामोलामो पगाह लगाएर बाँध्ने चलन रहेछ | नहरलाग्ने त्यो ठाउँमा अधिकांश जमिन बाँझै थियो | तर थोरैथोरै जग्गामा धेरैले तरकारी लगाएका थिए | कोपि, गोलभेडा, खोर्सानी धेरै उत्पादन हुने ठाउँ हो यो | दिउँसो दुवै दिदी र म सुँगा बजार गयौं | छोरीमान्छेसँग यसरि मेला बजार घुमेको अनुभव थिएन मलाइ | चटपटे खाइयो, ढुंग्री, प्याजी र पापड खाइयो | धेरै जसो तराईवासी थिए बजारमा | जे होस् यसरि घुम्दा मैले मेरो समस्या नै चटक्कै बिर्सेको थिएँ | बजारदेखि नै मावल गाउँको एकजना दिदीको साथ् लागेर मावलकी दिदी जानुभयो | उहा जाने नै सल्लाह गरेर आउनुभएको रहेछ | फर्किदा दिदीले डेढकिलो माछा पनि बोकेर ल्याउनुभयो | घरमा पुगेर दिदी र म बाख्रा लिन भनेर फेरी खेतमा गयौं | दिदीले भाइ तिम्रो को सँग लव परेको छ भनेर सोध्नुभयो, मैले छैन भनेर टारिदिए | लव गर्ने भने एउटी केटि छे, गर्छौं? भनेर पनि सोध्नु भयो तर मैले गर्दिनँ भने | मलाइ पनि दिदीलाई तपाइको लव परेको छ भनेर सोध्न ईच्छा थियो तर सकिनँ | ठुलोबुबाले केलाएको र ठुलोममिले पकाएको मिठो माछा र सुप खाईयो | राति ठुल्दाजुसंग गफ गर्दै सुतें | दाजुको र मेरो एउटा कुरामा समानता थियो दाजुपनि खैनि खाने र म पनि | त्यसैले हाम्रो जहिल्यै गोप्य बैठक बस्थ्यो पाँचमिनेट | दाजुकोमा जाँदा दाजुले र मेरोमा आउँदा मैले खैनी जहाबाट ल्याएर भएपनि खुवाउनु पर्ने अघोषित चलन थियो |
 

२०५७ बैसाख १५, बिहिबार

 

 

आज एउटा नयाकुरा देख्न पाइयो, मह काडेको | यहाँ मौरीका पाँच घार छन् र मह धेरै नै हुन्छ | हरेक पटक आउँदाजाँदा यहाबाट मह लग्ने गरेका छौं | ठुलोबुबाले चाका सहितको मह झर्के बटुकोमा राखेर दिनुभयो | धेरै न धेरै मह थियो, खाइ सक्दिन भन्दापनि बिस्तारै खाउ न के हतार? भनेर जिद्दी गर्नुभयो र खाएँ | मलाइ गुलियो भनेपछि धेरै नै मनपर्ने र भागमा दिएको खानेकुरा भिंडी र घिरौंला बाहेक छ भने कहिल्यै फाल्न मन लाग्दैन | किन किन भिंडी चै मलाइ मनपर्दैन, एकपटक सानैमा झुक्किएर ममीले भिंडीमात्रै पकाउनु भएछ | खानेबेलामा मात्रै सम्झिनुभयो म भिंडी खान्न भनेर | अनि घिउ र दुधसंग भात दिनुभयो | उसो त घिउ र दुध मेरा प्यारा खानेकुरा हुन तर खोई के रिसले भनेछु, अब सबै भिंडीका जरा काटिदिन्छु भनेर | त्यहाँदेखि भिंडीको बोट मर्यो भने मलाइ लगाउने गरिन्छ | खाँदै जाँदा थाह भयो धेरै खाँदा चिनिपनी तितो हुन्छ भनेर किन भनेका रहेछन | चिनी त यसरि कहिल्यै खाएको थिईन आज मह खाएरै बुझियो | जेनतेन सके मह र एउटा पुरानो घटना याद आयो | सानैमा बुबाले कहाबाट रुख कटहर लिएर आउनुभएछ | हामि तीनैजना रुख कटहर खानलाई मरिहत्ते गरिराखेका थियौं, बुबाको मन म जत्रै लिएर आउनुभएछ | सकेजति खाओ भन्नुभयो र कटहरका कोया गनेरै खाइयो | त्यसै म खानमा लोभी त्यहीमाथि कटहर, सबैभन्दा बढी कोया मेरै भए | खाइसकेर तीनैजना माथि टाँडमा गयौं, मैले अँध्यारोमा लुसुलुसु खैनी बनाएँ र खाएँ | म कहिल्यै अडेस नलागी बस्न सक्दिनँ, कि ढल्किनै पर्छ र ढल्किए | एकैछिनमा अटसमटस भएर आयो र पेट दुख्न थाल्यो, सहन नसकेर म रोएँ | म रोएको देखेर दाजु र भाइ हाँस्नथाले ममिबुबाले सुन्नुभयो, अनि के भयो भनेर सोध्नुभयो | भाइले सान्दाजुलाइ कटहरले रुवायो भनेर हाँस्दै सुनायो, खैनी खायो होला भन्नुभो बुबाले चुनाले कटहर फुल्छ | हिड्नुपर्छ अनि घट्छ भन्नुभयो, मैले खैनी खाएको सबैलाई थाह भएपनि म थाह नभएझै गर्थें लुकेर खान्थें | त्य्हादेखी धेरै खान कान समातेको थिएँ आज फेरी धेरै खाएँ, धन्य केहि भएन |

 

 

दिउँसो खाना खाएर फिल्म हेर्नजाने योजना दाजु काकाको छोरा बिरामी भएर गएपछि तुहियो र दिदीहरुसँग गत्थासा गरेरै बित्यो | अब मलाइ यहाँ बस्न लाज लागिसकेको छ | मैले यहाँ आउछु नभनी आएको थिएँ, जसरि भएपनि भोलि जान्छु भन्ने बिचार बनाएँ |

 

२०५७ बैसाख १६, शुक्रबार

 

आज खाना खाएर अलिक दिनढलेपछि मात्रै आउने मेरो बिचार थियो | तर ठुलोममिले गाउँबस्ती ठिक छैन बेलैमा जानु जानेभए, नत्र केहिदिन बसेर जानु भनेर खाना खाएको एकैछिनमा पठाउनुभयो | म ठुलै भएपनि ममीको मन मानेनछ र दाजुलाई सुनबर्सीसम्म पुर्याइदे भनेर पठाउनुभएको थियो | दाजु र त्यहासम्म संगै आयौं | दाजुले अब आर्मीमा लाग्ने र तिमिपनी आर्मीमा लाग्नु यस्तो राम्रो ज्यान छ भन्दै मलाइ उकास्नुभायो | तर मलाइ आर्मी बन्ने शोख कहिल्यै लागेन, म आर्मी बनेपनि बेकामे हरुवा बन्छु होला जस्तो लाग्थ्यो | मलाइ काटमारमा डर लाग्ने गर्दथ्यो | दाजुले बक्राहको डिलसम्म ल्याइदिनु भयो | खोलामा स्थानियहरुले बाँसको पुल लगाएका थिए, मान्छे, साइकल र मोटरसाइकल आवतजावत गर्न सकिन्थ्यो | साइकल तारेको पाँच रुपैया तिरेर म वारि आएँ दिउँसै भएकोले मलाइ घर जान डर लागिराखेको थियो | फेरी मावल पस्न पनि मन लागेको थिएन | बक्राहको अग्लो बाँधमा काँस पन्छाएर एक घण्टा जति बसें | बस्न पनि मन लागेन अघिसम्म मैले सबै कुराहरु बिर्सेजस्तै भएको थियो, एक्कासि तिर्खा लागेजस्तो भयो | ट्वाइलेट लाग्यो, पसिना आयो | फेरी मलाइ डरले गाँज्न थाल्यो, के गरौँ र कसो गरौँ भयो | त्यहाबाट सिधै दाम्राभिटा बजार पुगें, आज बजारको दिन यताउता गरेर मन मान्छ कि भनेर घुम्दै थिएँ | अचानक प्रतिमाको दाइ परबाट घाँटी तानेर केहि खोज्दै गरिराखेको देखें | फेरी डर लाग्यो उसले मलाइ नै खोजेजस्तो लाग्यो | सोचें अब साइकल लिएर घर जान्छु तर त्यो दाइ र अरु साथि पनि बाटामा निस्किए | सोचें, चारपाँचजना साथि लिएर मलाइ खोज्दै आएको रैछ भेटियो भने कुट्ने भनेर | बजारको दक्षिण कुनामा रोडमा निस्किने ठाउँमै कपाल काट्ने सैलून थियो | त्यो हुल मध्येको दुइजना पसे तर प्रतिमाको दाइ र बाँकी भने बाहिर राखिएको बेन्चमा बजारपट्टि नै फर्किएर बसिराखे | उनीहरु बसेको छेउमै मेरो साइकल राखेको थियो | मलाइ त रुन मन लाग्यो, कोविदको उपन्यास अनुराधा सम्झिएँ | मलाइ त्यसको नायकसँग तुलना गरें | म प्रेममा हारेको मान्छे भएँ, मैले विशाललाई पनि सक्दो सरापें | यो सबको जिम्मेवार पनि उही थियो उसैले उक्साएर मैले यो हर्कत गरेको थिएँ | साँझ पर्न थालेपछि लगभग आधि बजार उठिसकेको थियो, म पारिपट्टिको पसलमा झुन्डिएको झोलाले छेलिएर झन्डै एकघन्टा बिताएपछी उनीहरु त्यहाबाट गए | स्कुल कटेहोलान् भन्ने अनुमान लगाएपछि म पनि साइकल टिपेर पछी लागेँ |

 

म घर आइपुग्दा झपक्कै साँझ परिसकेको थियो | सबै मलाइ देखेर अचम्मित भए, कसैले केहि नभनेपछी त्यो कुरा घरसम्म आइपुगेको रहेनछ भनेर ढुक्क भएँ | तर म यत्रो दिन पाहुना लागेर बसेको देखेर सबै जिल्लिएका थिए, हिजै मावलकी दिदीको यता आउने काम परेर आउँदा म हसन्दह पुगेको कुरा सुनाइसक्नु भएको रहेछ | अब मैले एउटा निश्चय चाही गरिसकेको थिएँ कि बिशालालाई भेटेर पत्र फिर्ता माग्ने | मलाइ डर पनि थियो कतै प्रतिमाले पत्र लिन इन्कार त गरिन? या हुँदैन भनेर जवाफ पो पठाईसकी कि ? खाना खाँदै गर्दा तँलाई खोज्दै दिनमा पाँचपल्ट बिशाल आउँछ भनेर ममीले सुनाउनु भयो | हो साँच्चै प्रतिमाले हुँदैन भनिसकिछे | अब कसरि मुख देखाउनु ? प्रतिमाले हुन्छ भनि भने जसले जे भनोस म सौंठामै प्लस टु पढ्छु भनेर सोचिसकेको थिएँ अब त यस्तो लाग्न थालिसकेको थियो कि बुबाले भनेजस्तै सिएमएको तयारि कक्षा पढ्न दिनेससंगै गईहालूं |

 

 

म अँध्यारोमा आत्तिदै विशालको कोठैमा पुगें | ऊ चित्र बनाउँदै बसेको रहेछ, चित्रको शौखिन छ ऊ | धेरै राम्रो पनि बनाउछ, लागिपर्यो भने राम्रो चित्रकार हुन्छ ऊ | मलाइ देख्ने बित्तिकै खुसि भयो र भन्यो आरे मान्छे तिमि कहाँ हराएको यार? म तिमीलाई खोज्दै कतिपल्ट घरमा गएँ | मैले मेरो पोको खोलेर उसको सामु छरपष्ट पारें | मेरो कुराले मरीमरी हाँस्यो ऊ | कस्तो काँतर यार तिमि, छेत्री भएर यस्तो डराएको? मैले भने के यार युध्दको मैदान हो र नडराउनलाई तिमीलाई परेपछि थाह हुन्छ | उसले मलाइ ढाडस दियो यार त्यस्तो केहि हुन्न | तिमि के मा कम छौ र यार? शुसिल छेत्रीजस्तो देखिन्छौ | पैसामा पैसा छ, रुपमा रुप छ, ज्यानमा ज्यान छ | मजस्तो भएपो? सदा झैं उसले गुनासो गर्यो | उसको ममीले सुन्नुहुन्छ कि भन्ने डरले हामीले यि कुरा आवाज दबाएर गरेका थियौं | अगाडी भन्यो मैले तिम्रो चिट्ठी भनेर दिंदा कस्तरी लजाई, केहि हुन्न यार | सियोर स्विकार्छे तिम्रो प्रस्ताव | मेरो मन हलुका भयो, जिउ चंगा भो | मुटुमाथि राखेको ढुङ्गो झिकिदिए जस्तै भो, पैतालामा बिझेको काँडा निकालेजस्तै भो र भन्यो म भोलि जसरि भएपनि जवाफ मागेर ल्याउँछु | खुसि मनले म फर्किएँ, तर राति सुत्दा फेरी अनेक तर्कना खेले | स्वीकार्ने भए अस्ति जवाफ लेखिहाल्थी नि, त्यो विशाललाई के थाह केटीको सोचाइ? ऊ पनि मजस्तै त हो नि |

 

२०५७ बैसाख १७, शनिबार 

 

आजको बिहान अनेक तर्कनाहरुमै बित्यो, छँदाखाँदाको हँसमुख मान्छे किन यो चपेटामा फंसेछु भनेर लाग्नसम्म पिर लाग्यो | स्वीकारे पनि नकारेपनि अब बुबादाजुलाई चैं भन्दिन होला भनेर ढुक्क भएँ, भन्ने भए अस्तिनै भनिहाल्थी नि | दिउँसोतिर भाइले बिशालकोमा जा अरे भन्ने खबर ल्यायो | फेरी खेतैखेतको बाटो गएँ |

 

घरमा पुग्दा नपुग्दै विशालको ममीले हैन यो कता खेतबाट आउँछ? अस्तिपनी खेतबाट आकोथ्यो भन्नुभयो | हैन बाख्रा सारेर आको नि दिदी भनें | विशालको ममीलाई हामि सबै गाउँकाले नै दिदी भन्थ्यौ | विशालले माथि बोलायो र हाँस्दै चिठ्ठी दियो, मलाइ डर लाग्यो फेरी | बिशाललाई नै पढेर सुनाउन अनुरोध गरें तर उसले त्यहि छ काम बाँकी भन्यो | आँफैले खाम च्यातेर शुरु गरें खाममा केहि लेखिएको थिएन | भित्र अर्को पनि पानाले बेरिएको थियो जसमा लेखिएको थियो “मायाको पहिलो सप्रेम गुन्जन प्यारो सागरलाई” | मेरा हात काँप्न थाले, बिशाल चै अलिपर बेडमा ढल्किएर मेरो अनुहार पढ्दैथियो | खरर सबै पढें डेढ पानामा लेखिएको पत्रमा मलाइ मनपराउने गरेको, यस्तै अपेक्षा मबाट गरेको र जीवनभरी मलाइ साथ दिने बाचा थियो | सार र भाव जस्तोसुकै भएपनि शैली एकदम मनपर्यो मलाइ | म आँफुलाई धुरन्धर जान्ने, साहित्यिक र चिठी लेखाइमा पारंगत भएको सम्झिन्थे, मेरो त्यो भ्रम यो पत्रले तोडिदियो | साहित्य र प्रेमका किताब नपढेपनि उसको भाषा ज्यादै प्रेमिल थियो | यस्तरी म लट्ठ परें कि मनमनै प्रण पनि गरें, अब प्रतिमालाई जीवनभरी माया गरिराख्नेछु | मैले त्यो पत्रलाई दशपटक पढें र बिसपटक म्वाई खाएँ | मलाइ हेक्का भएन बिशाल यहीं छ | म आज ज्यादै खुसि छु मैले सबैथोक पाएँ, आज त्यसपछि देखेका सबै कुरा मलाइ प्रिय लागे | हिजोअस्ति सम्म मैले सधैं देखेको यो बाटो, यो गाउँ, मेरो आफ्नै घर, मेरो कोठा, गोठ, आँगन सबै आज अर्कै लागे | सबै सुन्दर लागे, मैले कुनै चिजलाई कहिल्यै यसरि हेरेको रहेनछु | घरमा आएर ऐनामा आँफुलाई हेरें, म कालो भएपनि कत्ति सुन्दर रहेछु | मेरा आँखा कति राम्रा रहेछन, नाक थेप्चेको भएपनि कति सुहाउँदो, गाला, निधार कति सुहाउने | साँच्चै म संसारकै सुन्दर केटा रहेछु | विशालले भनेजस्तै म शुसिल छेत्रीजस्तै रहेछु……

 

===== समाप्त =====