लोहोन्द्रा र म

आज उसको जन्मदिन, मैले चाहेर पनि बिर्सन नसक्ने दिन। जसरी सम्झिने खास कारण छैन, त्यसैगरी बिर्सनुपर्ने जरुरत पनि। बेवास्ता गर्न नखोजेको होइन तर निरर्थक। एकाएक मन फेरियो। अघिसम्म अर्थहीन र बेतुक लागेका कुराहरु त्यसैत्यसै अत्यन्त सुन्दर र अत्यावश्यक लाग्न थाले। एकैछिनमा कसरी यस्तो हुन्छ? सादा कागजको पानामा रङ पोखिएर रङ्गिन भएजस्तो लाग्यो। अनि त के थियो? सरप्राइज दिनलाई उसको घरछेउ पुगें| मोबाइल हातैमा थियो, नम्बर मुखैमा…..।

समयलाइ बलवान भन्नुको आशय म जान्दिनँ तर यो जरुर छ। मेरो त्यत्रो उत्साह र जोश पहिलो धुलाइमा खुइलिएको कपडा झैं भयो, फुस्रो र बेरङ्गी। समयले मलाइ एउटा नाङ्गो बगरमा पछारेर आफ्नो शक्ति देखाएर गयो।

झर्केर उ भन्दै थिई “के गर्नु त मेरो जन्मदिन भए, नाचौं? म के भन्न सक्थें र? भन्ने केही थिएन तैपनी मैले यो विशेष दिनमा सम्झिनको लागि मात्रै सम्झिएको हो भनेर प्रमाणित गर्न खोजें। घोडालाइ जबर्जस्ति तानेर खोलासम्म लैजान सकिन्छ रे तर उसलाइ इच्छा नभए जति बल गरेपनि पानी खुवाउन सकिन्न रे। उसलाइ तिर्खा नभएपछी मैले जुनसुकै स्वादको पानी देखाएपनि मेरो दाल गल्नेवाला थिएन।

मलाइ स्मृतिले दुइजोडी बर्ष पछि हुत्यायो। उसको जन्मदिन इटहरिमा मनाएर हामिदुइ फिर्दैगर्दा उसको घर आउनु अलिक अगाडि लोहोन्द्राको पुलमा अडियौं। खोला हेर्दै झूरलाग्दो देखिन्थ्यो| लाग्थ्यो यो जत्तिको निरस र उजाड ठाउँ दुनियामा शायदै होला| पुलको रेलिङ समातेर आधा जिउ खोलातिर झुकाउदै घृणित नजरले खोलालाई हेरें| लापरवाही पाराले भएभरको थुक पिच्च खोलामा थुक्दै भनें “ओइ नक्कली याँदेखी सिधै फाल हान्दिउँ?” तपाइँ बाच्नुहुन्न याँदेखी झर्दा त” उसले कुरा अघि बढाइ। “बाच्नलाइ को फाल हान्छ र?” मेरो रेडिमेड जवाफ| अनि तपाईं नभए म चैं किन बाँच्नु त? म पनि फाल हान्छु” दिल्लगी गरि उसले। “किन मबिना बाँच्दिनस र? भोलि हामी एक हुन सकेनौं भने?” दिल्लगिलाइ दिल्लगी नै फिराएँ। उसका खिरिला औंलाले मेरो मुख थुन्दै फुस्फुसाइ “चुप,म त्यो क्षणको कल्पना नै गर्न सक्दिनँ। हो म त मरिदिन्छु”। “तँलाइ मर्न आउँछ, जान्दछेस के? कसरी मर्छेस भन त?”। म जारी छु अझै। “बिलेडले हात काट्छु, पासो लाग्छु, पोइजन खान्छु नभए खोलामा डुब्छु।” उसले आफ्नो अथाह ज्ञानको पोको खोली। “काँ यै लोहोन्द्रामा? हिउँदमा त नआइज है, भ्यागुतोको त घाँटीघाँटी मात्रै आउँछ पानी। डुब्दिनस नि।” म गल्नेवाला थिईनँ, हाँसोलाई सकेसम्म रोकेर भनें। उसले मेरो कुरामा ध्यानै नदिइ पोकिदै भनी “याँ नभए सप्तकोशीमा जान्छु नि।” हार्न हामी दुवैलाइ हाम्रै ग्रहले नदिने।

पछिका दुईजोडी सालमा लोहोन्द्रामा धेरै पानी बग्यो, सप्तकोशिले त नबगाउने कुराहरु पनि बगाएर लग्यो। तरपनी यो लोहोन्द्रामा पानीले माया मारेर एक्लिएको पहेलो बालुवा उस्तै थियो। पहिले हामी जहाँ उभिएका थियौं म त्यही ठाउँमा उभिएको छु। हिजो मसँग उ थिई, सपना, आशा र सम्भावना थिए तर आज रित्तै र एक्लै भएँ। अकास्मात मलाइ रेलिङमा समातेर आधा जिउ खोलातिर झुकाएर सुकेको खोलोसँग आफुलाइ दाँज्ने बिचार आयो। फरक्क पछाडी फर्किएँ, तर त्यहा त रेलिङ नै भत्किएको थियो। मैले झट्ट सोचें बिना योजना कति मन यो रेलिङ भत्काएर तल बालुवामा टाउको जोत्न पुगे होलान? धेरैले भुले होलान तर पुलले अझै त्यो दुर्घटना बिर्सन सकेको थिएन। उ चोट बोकेर बसेको थियो। समयले नराम्रो कुरा कहिल्यै बिर्साउन सकेनछ। बालुवातिर एकटकले हेरें, खोलाले गिज्याए झै लाग्यो। अब खोलाले मलाइ विस्मृत नजरले हेर्यो, घृणा फ्याक्यो| अनि भर्खरै उसले मेरो कान थर्किनेगरि भनेको सम्झिएँ। “अब मलाइ फोन नगर्नु, मेरो मान्छे पढाई सकेर आएकोछ मलाइ बिहे गर्न।” मैले यस्तो अप्रत्यासित क्षणको कल्पना गरेको थिइनँ र अनायासै भनेछु। “अनि म पनि त आएँ नि मृत्युको मुखबाट बाँचेर…, तैंले यसो भनिस भने त म ठाडै सुकेर मर्छु”। नजानिँदो पाराले म निरिह भएछु| उस्लाइ अझै च्याट्ठिन पुगेको थिएन, झन बल गरेर भनी। ” मरे मैले के गर्नु त? दुनियाको ठेक्का मलाइ पर्या हो र?

लोहोन्द्राको यो पुल अझै धेरैजसो उस्तै छ। पुलको वल्लो छेउमा आएपछी पछाडी फर्किएर हेरें। उ र म उस्तै देखियौं दुवैको रेलिङ भत्किएको। यात्रुले बिर्सिएर एक्लिएको। यो बिचमा यसले धेरै यात्रु ओसारेछ मेरी उसले जस्तै| यो चारबर्षमा लोहोन्द्राले कसैलाई घरबार विहिन बिरामी बनाएर कतै लगेछ त कसैलाई डाक्टर बनाएर ल्याएछ|

Leave a comment