गजल

गजल
जमानाको बहाना यो नजानेको होइन
नसम्झेको मात्र न हो बिर्सिएको होइन

आमाले एक वाक्यभित्रै परिचय दिईन्
घरमात्रै लड्यो बाबु मन भत्केको होइन

मलाई अरु के चाहिन्थ्यो? सुन्छु अनि सुत्छु
हार्नेहरु भन्छन् प्रयास नगरेको होइन

भगवान अमूर्त छ! ढोंग गर्छन् मान्छे
बरु याद छैन होला नदेखेको होइन

शायद मेरो गाउँघर यो धरतीमा छैन
सपनामा देख्नै सहि नखोजेको होइन

गजल

म आउँछु, आउदा आँधि तुफान बोकी आउँछु
अध्यारोलाई चिर्दै नयाँ बिहान बोकी आउँछु…

को-को छौ याँ फूल टिपेर कानमा सिउरी हिड्ने
निर्दयीको लागि सिङ्गो बगान बोकी आउँछु…

शरमले कि त डरले झुक्छन् आँखाहरु
हिमालजस्तो ठाडो शिर ईमान बोकी आउँछु…

देश चल्दैन पेट भर्दैन फगत् भावनाले
छातीभित्र एउटा कठोर चट्टान बोकी आउँछु…

ईश्वर खोज्दै संसार घुम्यौ तिमी कठैबरा
हेर म त आँफै भित्र भगवान बोकी आउँछु…

धेरै भयो सुनाएको पिडा तिमीलाई
यसपाली ओठमा मिठो मुस्कान बोकी आउँछु…

गजल

गजल

संगतले बिग्रिएँ म, भन्नु सजिलो छ,
चाखेको छु बालुवाकै उखु रसिलो छ…

शरीर र मगज पक्कै साटिएको होला,
यता मान्छे अपूर्ण छ उता कमिलो छ…

ठुलो थालि थाप्नु अघि सोच्नु एकपटक,
को छन् पाहुना अनि कसको हातमा दाबिलो छ…

मख्ख नपर माया मारें भनेर तिमि कहिल्यै,
मुटुभित्रै खोज्नु अझै प्रेमको त्याँ जिलो छ…

गजल

गजल
 
कठैबरा ! यो दुनियाँ क्या मजाले झुक्किदो हो
सिद्रा बेच्दै कतिपटक पशुपति पुगिँदो हो
 
यो सोचेर ज्यूँदो थिएँ, साच्चै पृथ्वी गोलो भए   
कुनैदिन धुलोमाथि बना’को घर भेटिदो हो
 
हामि बाटो नभेटेर जहाँ थियौं, त्यहिँ नै छौं
बरु हिड्दै गा’को भए हजार बाटा बनिँदो हो
 
यौटै कुरा नबुझेर गोलमाल भयो जिन्दगानी
जाँदा के के लगिँदो हो, अनि के के छोडिदो हो ?
 
लड्न नदिई सागरलाई समाउछन साथिहरु
नत्रभने उसले पनि आफ्नी आमा सम्झिँदो हो

गजल

गजल

हो मान्दछु, गल्ति हाम्रै पुर्खाहरुको हो,
बीरहरुको हैन यो देश मुर्दाहरुको हो …

मन्दिरमा छोरीलाई बुझाउन सकिनँ खोइ,
राक्षसनीको होइन मुर्ति, दुर्गाहरुको हो …

श्रीमतीजी खुईं गर्छिन मलाइ देखेपछी,
बुढ्यौलीको हैनन् मुजा सुर्ताहरुको हो…

परदेशीले हलीलाई खेतै जिम्मा दियो,
तिमि खेतको साहु म चैं पुर्जाहरुको हो …

बिस्मात यै छ, कलमको इतिहासै छैन,
हाम्रो बिगत खुँडा अनि खुर्पाहरुको हो…

गजल

गजल
सल्काएर छिमेकीले परालको आगो,
मजा लिँदै भन्छन क्या ! कमालको आगो…

घाम ताप्दा काम लाग्लान् उपदेश तिम्रा,
दर्शनले निभाउन्न सुरुवालको आगो…

अर्काको छत् चुहिएको खबर छ हाम्लाई,
देखिंदैन आफ्नै घरमा निदालको आगो…

गाउँघरमा धुवाँ, गन्ध थाह पनि छैन,
शहरबाट छर्लंग छ नेपालको आगो…

हिउँ पिउँदै हुर्किएर बनेका छौं हिमाल,
अब छिट्टै निभाउनु छ पर्खालको आगो…

फेसबुकमा पढ्नुहोस्

गजल

गजल
व्यर्थै किन खोज्ने गल्ति कस-कसका हुन?
यो समस्या र उल्झन हाम्रा आपसका हुन…

खुट्टा भए जुत्ताहरु छानीछानी पाईन्छ,
भन्नेले नि जान्दछ बात ढाडसका हुन…

पहिलोपल्ट तर्सेर म फर्किएर आएँ,
ति मुर्तिहरु देवताका कि राक्षसका हुन?

कुनैदिन मैलेपनि फूल मन पराएँ,
मेरालागि ति पलहरु अपजसका हुन…

मुसा दिमाग खियाउछन् बाँधीदिन घन्टी,
यि बुध्दिका कुरा हैनन् साहसका हुन…

फेसबुकमा पढ्नुहोस्